नेपालगन्जमा खोई क्रिकेट मैदान ?

नेपालगन्जमा फुटबलका लागि अन्तर्राष्ट्रिय स्तरको भव्य मैदान रहेको छ । कर्बड हल, स्विमिङ्ग, भारोत्तोलन, सुटिङ्ग जस्ता खेलका लागि पूर्वाधार बनिसकेका छन् । तर, क्रिकेटका लागि भने मैदान छैन ।


नेपालगन्ज उपमहानगरपालिकाले क्रिकेट मैदानका लागि विगतदेखि नै प्रयास नगरेको भने होइन । तर, विभिन्न कारणले क्रिकेट मैदान निर्माण योजना अलपत्र रहेको छ । फुल्टेक्रामा तलाउ रहेको करिब १० विगाह ५ कठ्ठा २ धुर जग्गा मध्ये ५ विगाह क्रिकेट मैदानका लागि छुट्याउने निर्णय भएको थियो । तलाउको रहेको जग्गामा क्रिकेट मैदान बनाउने भनेपछि अदालतमा मुद्दा पर्यो । र, तत्काल कुनै निर्माणको काम अगाडि बढेन । अदालतले उक्त जग्गा संरक्षण गर्नका लागि अतिक्रमण हटाउन, तारबार मात्र गर्ने आदेश दियो ।


नेपालगन्जले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू जन्माएको छ । तर, ती खेलाडीका लागि नियमित प्रशिक्षण, अभ्यास र प्रतियोगिताका खेल मैदान भने छैन । हालसम्म मंगल प्रसाद माविको खेल मैदानमा प्रतियोगिता हुने गरेको छ । नेपालगन्जमा खेल मैदान नभएपछि मापदण्ड अनुसारको नभए पनि मंगलमै बेलाबेखत प्रतियोगिताहरू हुने गरेको थियो । विद्यालय मातहत रहेको उक्त खेल मैदानमा विद्यार्थीहरूको अध्ययनमा बाधा हुने गरेको छ ।


क्रिकेट मैदान नभएपछि त्यसलाई बनाउनु पर्ने माग वितग देखि नै उठ्दै आएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सोमबार आएको सार्वजनिक सुनुवाईमा अरूण विक्रम शाहले नेपालगन्जमा क्रिकेट मैदान नभएको र त्यसका लागि उपमहानगरपालिकाले के पहल गरिरहेको छ भन्ने प्रश्न गरे । उनले खेलमा उपमहानगरपालिकाले कति लगानी गरेको छ भन्ने प्रश्न गरेका थिए । शाहले फुल्टेक्रामा जग्गा प्राप्तिमा विवाद रहे अन्य विकल्प उपमहानगरपालिकाले सोचेको छ, छैन जिज्ञासा राखे ।


नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले क्रिकेट मैदानका लागि उपयुक्त मिलेको जग्गा फुल्टेक्रामा मात्रै रहेको बताए । ‘अन्यन्त्र सार्वजनिक, सरकारी जग्गा नभएको होइन, तर क्रिकेट मैदान बनाउन मिल्ने जग्गा छैन’, उनले भने, ‘त्यसैले जग्गा प्राप्तिको प्रयासमा हामी छौं, त्यसका लागि छलफल गरेको छौं, टोली पनि गठन गरेका छौं ।’
नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज क्रिकेटका लागि उर्बरभूमि भएको बताउँदै फुल्टेक्रामा बनाउने भनिएको क्रिकेट खेल मैदान अदालतको मुद्दा पछि रोकिएको बताए । ‘अब मन्त्री परिषद्को निर्णयबाट मात्रै जग्गा प्राप्त हुनसक्छ’, नगर प्रमुख विष्टले भने, ‘त्यसका लागि प्रधानमन्त्री, खेलकुद मन्त्री लगायतसँग पहल गर्न टोली एक साताभित्र काठमाडौं जानेछ ।’

Exit mobile version