नेपालगन्जमा ७० जनालाई सीप विकास तालिम दिइँदै

नेपालगन्जमा सीप विकास तालिम सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग एवम् सिमेका ह्युमन रिसोर्स प्रालिको प्राविधिक सहयोगमा सीपमूलक तालिम सुरु भएको हो । तालिमको नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले उद्घाटन गरेका छन् । तीन महिने मोबाइल मर्मत तालिम, तीन महिने टायल र मार्बल फिटिङ र ४५ दिने कुक तालिम एकसाथ सुरु गरिएको हो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख राईले आत्मनिर्भर र स्वाबलम्बी बन्न तालिम उपयोगी हुने भन्दै चासो र उत्सुकतापूर्वक सहभागी भई सीप सिक्न आग्रह गरे ।  उनले सिकेको सीपलाई भविष्यमा व्यवहारिक जीवनमा लागू गर्ने गरी मनस्थिति बनाउनुपर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जीवनोपयोगी सीपले उद्यमशील बन्न सहयोग गर्ने बताए । सीप सिकेर मात्र नहुने भन्दै उनले जानेका कुरालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले अहिले बजारमा बढी माग भएका सीपहरु सिकाउन थालिएको भन्दै तालिममा इमान्दार र अनुशासनपूर्वक सहभागिता जनाउन आग्रह गरे ।

मोबाइल मर्मत तालिममा २४ तथा टायल र मार्वल फिटिङ र कुक तालिममा २३/२३ जना सहभागी रहेको सिमेका ह्युमन रिसोर्स प्रालिका संयोजक शिव रानाभाटले जानकारी दिए ।

Exit mobile version