मासु व्यवसायीलाई स्वच्छ मासु उत्पादन तालिम

नेपालगन्जका मासु व्यवसायीलाई स्वच्छ मासु उत्पादन तालिम दिन थालिएको छ । उपभोक्ताको भान्सासम्म स्वस्थ र गुणस्तरीय मासु पुगोस् भन्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिकाले मासु व्यवसायीलाई स्वच्छ मासु उत्पादन तालिम दिन सुरु गरेको हो । पशु सेवा शाखाको आयोजनामा तालिम दिइएको हो । पहिलो चरणमा वडा नम्बर ४ का १५ जना मासु व्यवसायीलाई तीन दिने तालिम दिइएको पशु  सेवा शाखा प्रमुख लक्ष्मी शाहीले बताइन् । 

तालिममा राष्ट्रिय पशु प्रजनन कार्यालय बाँकेका पशु विकास अधिकृत डा. मिलनकुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका पशु स्वास्थ्य प्राविधिक एवम् शाखा प्रमुख शाही, पशु सेवा तालिम केन्द्रका प्राविधिक सहायक मनोज शर्मा, नेपालगन्ज उपमहानगरपालिकाका पशु स्वास्थ्य प्राविधिक अच्युत गौतम र नायव पशु सेवा प्राविधिक रिता रानाले स्वच्छ मासु उत्पादनका लागि आवश्यक ज्ञान, तरिका र प्रक्रियाबारे प्रशिक्षित गरेका थिए । 

तालिम अनुगमनमा पुगेका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले तालिममा सिकेका विषयबस्तु र उपयोगिताबारे प्रशिक्षार्थीहरुसंग साक्षात्कार गरेका थिए । सहभागीले तालिम उपयोगी भएको बताएका छन् । उनीहरूले सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अनुगमनमा सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशी, प्रेस सल्लाहकार नवीन गिरी लगायत पुगेका थिए । 

Exit mobile version