पाल्पा जिप दुर्घटना : मृत्यु हुनेको संख्या १० पुग्यो, १७ जना घाइते [अपडेट]

पाल्पामा ‘ओभरलोड’ यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । जिपमा सवार दुई महिने बालिकासहित १७ जना घाइते छन् । तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जिप मंगलबार चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो । घटनास्थलमा ८ र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनास्थलमा मृत्यु भएकामध्ये ६ जनाको पहिचान खुलेको छ । राति अबेरसम्म तिनाउ–६ मस्यामकी ६० वर्षीया यमकुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीया चुना रणपालको मृत्यु भएको डीएसपी सुगन्ध श्रेष्ठले बताए । लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीया गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीया विष्णुकला कामीको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट सिखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको मुस्ताङ जिप चिदिस लुम्पेकडाँडा घुम्ती सडकमा दुर्घटनामा परेको हो । कच्ची, उकालो र घुम्ती सडकमा दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख राजकुमार चापागाईंले बताए । घाइतेहरूमा महिला ८, बालक ४, बालिका ३ र पुरुष २ जना रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३६ दिने बालकसहित १७ जनाको उपचार भइरहेको लुम्बिनी मेडिकल कलेज प्रभासका कम्पनी सचिव कृष्ण पराजुलीले बताए ।

चालक तानसेन नगरपालिका–१० का दानबहादुर चिदीका अनुसार घुम्तीमा गाडीमा बेग्लै आवाज आएर पछाडि हटेपछि भीरबाट तल खसेको हो । दुर्घटनाग्रस्त जिप घुम्तीदेखि झण्डै १ सय ५० मिटर तल सोही सडकको तल्लो भागमा खसेको उद्धारमा खटिएका स्थानीय दिनेश घिमिरेले बताए ।

बेलुकी भइसकेको र भीरमा घाइते अड्किएकाले उद्धारमा केही कठिनाइ भए पनि समयमै अस्पताल पुर्‍याउन सकिएको जिल्ला प्रहरी प्रमुख एसपी हेरम्ब शर्माले जानकारी दिए । मृत्यु तथा घाइते हुने अधिकांश स्थानीय मस्यामको चिदिस र सिखरडाँडा गाउँका छन् । घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेलाई तत्काल लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएका थिए ।

कच्ची सडकमा अधिकांश यात्रुवाहक जिपले ‘ओभरलोड’ बोक्ने समस्या छ । श्रीनगर यातायात व्यवसायी कम्पनी प्रालिका कार्यालय प्रमुख भविन्द्र गौतमका अनुसार १३ सिट पास हुने जिपले क्षमताभन्दा बढी यात्रु बोकेको स्वीकारे । उनले यसअघि पनि यही जिपलाई अनुगमनमा पुग्दा ‘ओभरलोड’ बोकेको भेट्टाएर सचेत गराएको बताए । जिपको १३ सिटको बिमा हुने र अन्यको थप लाग्ने खर्च भने समिति र सवारीधनीले व्यहोर्नुपर्ने हुन्छ । ‘हामीले पटक–पटक सवारीधनी र चालकलाई अधिक यात्रु नराख्न चेतावनी दिँदै आएका छौं,’ उनले भने, ‘पक्कीभन्दा पनि कच्ची सडकमा अधिक यात्रु बोक्ने समस्या छ ।’ सिट पासबाहेक अन्य यात्रुको समिति जवाफदेही हुने ट्राफिक प्रहरी प्रमुख चापागाईले बताए ।

Exit mobile version