कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही खोलामा बुधबार मध्यरातमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ३२ जना घाइते भएका छन् ।

सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु–प–प्र–०२–००१ख००९८ नम्बरको बस बाटोबाट करिब दुई सय मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले जानकारी दिएका छन् । चन्द्रौटादेखि उत्तर १६ किलो मिटर मोडमा दुर्घटना भएको उद्धारमा आफैँ खटेका प्रहरी उपरीक्षक नवरत्न पौडेलले घाइतेमध्ये आठजनाको अवस्था गम्भीर भएको जानकारी दिए ।

घाइतेको उद्धार कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली राति नै घटनास्थल पुगेको छन् । घाइतेहरुलाई उद्धार गरी चन्द्रौटास्थित संजीवनी अस्पताल र आधारभूत स्वास्थ्य केन्द्रमा उपचार केन्द्रमा लिइएको छ । ३३ जना उद्धार गरिएको त्यसमध्ये नौजनालाई थप बुटवलस्थित चौराहा अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक पौडेलले बताए । मृतक र घाइतेको अझै नाम नखुलेको प्रहरी उपरिक्षक पौडेलले बताए । बसमा तीनजना गाडी स्टाफ र ३७ जना यात्रुसहित ४० जना सवार थिए ।

Exit mobile version