सुर्खेतबाट उडेको जहाज आकस्मिक अवतरण

श्री एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । कम्पनीका कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार सुर्खेतबाट ५४ यात्रु लिएर आएको सो जहाजको  ‘इन्डिकेसन’ मा समस्या पहिचान भएपछि पाइलटले नियम अनुसार ‘इमर्जेन्सी’ मागेका थिए । सोही अनुसार जहाज सकुशल अवतरण भइसकेको उनले जानकारी दिए ।

‘सामान्यतया इन्डिकेसनले संकेत गरेपछि इमर्जेन्सी मागेर अवतरण गर्नुपर्ने हुन्छ,’ मानन्धरले भने, ‘सोही अनुसार प्राथमिकताका साथ अवतरण गराइएको हो ।’ अहिले जहाजको प्राविधिक जाँच जारी रहेको उनले जानकारी दिए । जहाज साँझ ६ बजेतिर अवतरण गरिसकेको छ । नियमित उडानकै बेला जहाज सकुशल अवतरण भएको र इन्डिकेसनमा समस्या देखिँदा प्राथमिकताका साथ जहाज अवतरण गराउनु उडान सुरक्षा ‘प्रोटोकल’ भित्रकै काम मानिन्छ ।

Exit mobile version