लुम्बिनीमा तीन दिनमा २२ जनाको मृत्यु

फागुन लागकै दिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्‍यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा पनि १० जनाले ज्यान गुमाउनु पर्‍यो । सोही बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीको भनाइ छ। बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ । माघमा दाङको भालुवाङमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । तीव्र गतिमा रहेको बस ट्राफिक प्रहरीलाई छल्दै सोझै राप्ती नदीमा खसेको थियो । यी घटनाहरु त प्रतिनिधिमूलक घटनामात्र हुन् । लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो चालु आर्थिक वर्षको ६ महिनामा दुई सय ८५ जनाले ज्यान गुमाएको प्रहरी तथ्याङ्क छ । फागुन महिनामा मात्रै २२ जनाले ज्यान गुमाएको र घाइतेको गम्भीर अवस्थालाई हेर्दै यो सङ्ख्या अझै बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ ।

विशेषतः प्रदेशको पहाडी जिल्लामा भएको दुर्घटनामा परेर हताहत हुने सङ्ख्या बढी रहेको छ । ट्राफिक प्रहरी, सवारी चालक एवम् बस व्यवसायीहरुको चेपुवामा यात्रुहरुले ज्यान गुमाइरहँदा यी सरोकारवाला एकअर्कालाई दोषारोपणम दिइरहेका छन् । ट्राफिक प्रहरीले चालक, सडकको अवस्था एवम् सवारीको स्थितिलाई देखाउँदै यिनीहरुलाई दुर्घटनाको कारक बताइरहेको छ । बस व्यवसायीहरुले भने ट्राफिक प्रहरीले दुर्घटनाका नाममा अनावश्यक जाँच गरी मानसिक तनाव दिएको आरोप छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले प्रारम्भिक अनुसन्धानमा चालककै लापारबाहीका कारण दुर्घटना भएको बताए । तीव्र गति, अत्यधिक भारवहनका कारण पाल्पा र कपिलवस्तुको दुर्घटना भएको उनको भनाइ छ । हालको घटनामा चालकको लापरबाही देखिए पनि दुर्घटनामा अन्य कारणले पनि प्रभाव पार्ने गरेको उनी बताउँछन् । मुख्यतयाः चालक तथा यात्रुले ट्राफिक नियमको पालना नगर्नु, सडकको अवस्था, सवारी साधनको अवस्था, मापसे, चालकहरु पेसाप्रति जवाफदेही नहुनु, भौगोलिक विकटता, अत्यधिक सवारी चापलगायत कारण लुम्बिनी प्रदेशका दुर्घटनाका मुख्य समस्याका रुपमा रहेका छन् ।

लुम्बिनी प्रदेशमा आव २०७७/०७८ मा एक हजार दुई सय १२ दुर्घटनामा परी पाँच सय २७ जनाले ज्यान गुमाएका थिए । सोही आर्थिक वर्षमा एक हजार ८३ जना गम्भीर घाइते र सात सय ४० जना सामान्य घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्याङ्कले देखाएको छ । आव २०७८/०७९ मा एक हजार एक सय ६४ सवारी दुर्घटनामा परी पाँच सय ५१ जनाले ज्यान गुमाउनाका साथै एक हजार एक सय २३ जना गम्भीर घाइते तथा पाँच सय १७ जना सामान्य घाइते भएका थिए ।

आव २०७९/०८० मा भने आठ सय ९२  सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार सय ६२ रहेको थियो । सो आर्थिक वर्षमा सात सय ९९ जना गम्भीर घाइते तथा चार सय ७७ जना सामान्य घाइते भएको तथ्याङ्कमा उल्लेख छ ।

Exit mobile version