काठमाडौंबाट नेपालगन्ज आउँदै गरेका प्रहरी हवल्दार मृत भेटिए

काठमाडौंबाट नेपालगन्ज आउँदै गरेका प्रहरी हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिएका छन् । मृतक प्रहरी हवल्दार ठकुल्ला प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत रहेको प्रहरीले बताएको छ ।

ठकुल्लाको शव शिवनगर सामुदायिक वनमा सडीसकेको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितले जानकारी दिएका छन् । ‘उनी काठमाडौंबाट नेपालगन्ज फर्किंदै गर्दा बुटवलमा झरेको देखिन्छ,’ पण्डितले भने । ठकुल्लाको मानसिक अवस्था ठीक नभएको परिवारका सदस्यले बताएको भए पनि घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ । ‘उनको मानसिक हालत ठीक रहेनछ । एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेछन् । जंगलमा खान नपाएर पनि मृत्यु भएको हुनसक्छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ,’ पण्डितले भने ।

Exit mobile version