खजुराका सुकुम्बासी आन्दोलित

बाँकेको खजुरा गाउँपालिका वडा नं. ६ मा माओवादी द्वन्द्वकालमा बसेका सुकुम्बासी आन्दोलित भएका छन् । जसको जोत उसको भोग भन्ने नारालाई अब्लम्वन गर्दै २०५४ सालदेखि बसोबास गरिरहेका उनीहरुले स्थायी पुर्जा पाउन नसकेपछि आन्दोलित भएका हुन् ।
खजुरा गाउँपालिका वडा नं. ६ को गिजरा बस्तीको खाँडसारी मिलको जग्गा र ऐनालीमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरु लामो समयदेखि स्थायी पुर्जा पाउने आशमा बस्दै आएका छन् । संघीयताको कार्यान्वयनसंगै स्थानीय तहको निर्वाचनपछि आफ्ना समस्या हल हुने विश्वासमा रहेका सुकुम्बासीहरुका समस्या अझै बल्झिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । जनप्रतिनिधिले ३ लाख ७५ हजार कठ्ठाका दरले सम्बन्धित जग्गा किन्नु पर्ने भनेपछि गिजराबस्ती नै उल्टिएर वडा कार्यालय घेरा गर्न पुगेको हो । जसरी जग्गा जोत्नेको भनेर शुरुमा बस्ती बसालिएको थियो अब त्यसैगरी जग्गा प्राप्ती हुनु पर्ने उनीहरुको माग छ ।
खाँडसारी मिलको नाममा रहेको जग्गा सुकुम्बासी बसिरहेकै अवस्थामा किनबेच भएको थियो । तत्कालीन खजुरा गाउँपालिका सरकारले सो जग्गाको अनुसन्धान गर्नका लागि रोक्का राखेको भए पनि उक्त जग्गा किन्ने व्यक्तिहरुले अदालतबाट फैसला आफ्नो हातमा लिएका छन । यता केही ऐलानी र केही खाँडसारीको जग्गामा बसोबास गर्दै आएका सुकुम्बासीले भने लामो समयदेखि भोगचलन गर्दै आएको जग्गा आफ्नो नाममा हुनु पर्ने माग गरिरहेका छन् । उनीहरुले विवादित जग्गाको व्यवस्थापन गरी बस्तीका समस्या समाधानका लागि वडा कार्यालयमा धर्नासंगै ज्ञापन पनि बुझाएका हुन ।
खजुरा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष फारुक शेषले जनतालाई उठीबास गराउने स्थानीय सरकारको कुनै मनसाय नभएको भन्दै जग्गा वर्गीकरण गरिहेको र उनीहरुको उचित समाधान गरिने बताए । लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्बासीहरुले आफ्नो उचित व्यवस्थापन गर्नु पर्ने माग गर्दै आइरहेका छन् ।

Exit mobile version