सोफियाको १७ औं ‘खेल उत्सव’

सोफिया रेजिडेन्सियल स्कुलले शुक्रवार १७ औं खेलकुद उत्सव आयोजना गरेको छ । खेल दिवसका रुपमा वर्षेनी विद्यार्थीका खेलकुद प्रतिभा उजागर गर्न आयोजना गरिंदै आएको खेल उत्सव गरिएको हो ।

खेल उत्सवमा प्रमुख अतिथि, राष्ट्रिय खेलकुद परिषद्का सदस्य दिपेन्द्र विष्टले खेलकुदलाई विद्यालयस्तरकै पाठ्यक्रममा राख्न परिषद्ले पहल गरिरहेको बताए । स्कुलका विद्यार्थीहरु नै भविष्यमा देशका उच्च स्थानमा पुग्ने बताउदै विष्टले खेलकुद क्षेत्रबाट विद्यार्थीले देशलाई विश्वसामु चिनाउने हुदा विद्यार्थीको काँधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गरे ।

खेल उत्सवमा एक कक्षादेखि १० कक्षासम्मका विद्यार्थीहरुले विभिन्न प्रतियोगितामा भाग लिएको शिक्षक सुरेश गुरुङले जानकारी दिए । गुरुङका अनुसार विद्यार्थी मात्रै नभएर विद्यार्थीका अभिभावक, शिक्षक, शिक्षिकाहरुले पनि दौड प्रतियोगितामा भाग लिएका थिए । दौड प्रतियोगितामा विजेता बनेका अभिभावक, शिक्षक तथा शिक्षिकाहरुलाई पनि मेडल प्रदान गरिएको थियो ।

प्रतियोगितामा दौड, हाइजम्प, लङ्ग्जम्प, सर्टपुट, ब्याडमिन्टन, कबर्डी, फुटबल, क्रीकेट, डोरी तान्ने खेललगातका खेल समावेश गरिएको शिक्षक धीरज चौधरीले जानकारी दिए । ब्लु हाउस, रेड हाउस, एल्लो हाउस र ग्रीन हाउस गरि चारवटा समूह बनाएर प्रतियोगिता गराइएको थियो । प्रतियोगितामा ग्रीन हाउस च्याम्पियन बन्यो ।

एथलेटिक्स, मार्चपासलगायतमा राम्रो प्रदर्शन गरेको सो समुहले च्याम्पियन बन्दै यो वर्षको खेलकुद प्रतियोगिताको कप उचाल्न सफल बनेको हो ।

त्यसैगरी जुनियर च्याम्पियन (कक्षा १ देखि ४ सम्म) छात्रतर्फ कक्षा ४ का आजम राई, छात्रातर्फ कक्षा ३ का शिखा बिक, इन्टरमिडियट च्याम्पियन (कक्षा ५ देखि ७ सम्म) छात्रतर्फ कक्षा ६ का प्रीन्स विष्ट, छात्रातर्फ कक्षा ६ कै ख्रीष्टिना पौडेल च्याम्पियन बने । त्यसैगरी सिनियर च्याम्पियन (कक्षा ८ देखि १० सम्म) छात्रतर्फ कक्षा १० का अनुराग बिक र छात्रातर्फ कक्षा १० कै रिबेका चौधरी च्याम्पियन बनेको शिक्षक चौधरीले बताए ।

सोफिया कलेजका डाइरेक्टर प्रतिमा बसेलले संचालन गरेको कार्यक्रममा खेल प्रदर्शनदेखि प्रतिष्पर्धासम्मका आयोजनाका क्रममा विभिन्न विधामा खेलाइएका खेलकुद प्रतियोगिताका बिजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य दिपेन्द्र विष्ट, स्कूलका अध्यक्ष केबी बसेल, प्रिन्सिपल सुशीला बसेल, भेरी अस्पताल विकास समितिका सदस्य डा.डक्टप्रसाद धिताल, गोरखापत्र सम्बाददाता सिराज खान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का लुम्बिनी अध्यक्ष गजेन्द्र गुरुङ, मुस्लिम जर्नालिष्ट क्लबका अध्यक्ष आलम खान, पत्रकार केपी घिमिरे, सामाजिक अभियन्ता रमेश भण्डारी लगायतले मेडल र ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

Exit mobile version