बेरोजगारलाई रोजगारी सिर्जना गर्दै कोहलपुर र नरैनापुर

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकाले बेरोजगारका लागि रोजगारी सिर्जना गर्ने भएका छन् । यसका लागि यी दुई पालिकाले बेरोजगार सूची संकलन गरिरहेका छन् । यही सूचीका आधारमा बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको निर्देशिकाअनुसार रोजगारी सिर्जना गरिने बताइएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ का लागि न्यूनतम रोजगारीमा संलग्न हुने व्यक्तिको सूची तयार पार्ने काम सुरु भएको स्थानीय तहहरुले जनाएका छन् । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ (दोस्रो संसोधन, २०७८) को दफा १८ बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि न्यूनतम रोजगारीमा संलग्न भई सामुदायिक विकास निर्माणका काममा योगदान दिन इच्छुक चालु आर्थिक वर्ष २०८०/०८१ मा न्यून आय भएका वा स्वरोजगारमा संलग्न नरहेको १८ (अठार) वर्षदेखि ५९ (उनान्साठी) वर्ष उमेर समूहभित्रका बेरोजगार नागरिकलाई रोजगार सिर्जना गर्न थालिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए । फागुन मसान्तसम्ममा बेरोजगार व्यक्तिको सूचीमा सूचिकृत हुने उनको भनाइ छ ।

Exit mobile version