सहकारीकाे एक अर्ब ठग्ने दुईजना पक्राउ

सहकारीका बचतकर्ताको झण्डै एक अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र एक जना प्रबन्धकलाई पक्राउ गरेको छ । गितेन्द्रबहादुर (जीबी) राई संस्थापक अध्यक्ष एवम् संरक्षक रहेको सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईँ पाण्डेयलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । 
अध्यक्ष गुरुङलाई बिहीबार बुटवल हिलपार्कबाट र पाण्डेयलाई शुक्रबार स्याङ्जाको बिर्घाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले लुम्बिनी प्रदेशको सहकारी रजिष्टार कार्यालयमा बचतकर्ताहरूले दिएको उजुरी पछि सुप्रिमका अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेयलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
सहकारीविरुद्ध १० हजार ३९१ जना बचतकर्ताको एक अर्ब सात करोड ८२ लाख ६७ हजार रुपैयाँ हिनामिना भएको भन्दै सहकारीका बचतकर्ताहरूले प्रदेश सहकारी रजिष्टारको कार्यालय दाङमा उजुरी दर्ता गरेका छन् ।

Exit mobile version