६ महिनामा १० प्रतिशतभन्दा धेरैले बढ्यो सेयर धितो कर्जा

गत वर्ष निरन्तर घटेको मार्जिन प्रकृतिको सेयर धितो कर्जा चालु आर्थिक वर्षमा भने हरेक महिना बढ्दो क्रममा देखिएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्दै जाँदा यस्तो कर्जा विस्तार पनि बढ्दै गएको हो ।

गत असार मसान्तको तुलनामा ०८० पुससम्ममा मार्जिन प्रकृतिको सेयर धितो कर्जा विस्तार १०.५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । आर्थिक वर्ष ०७९–८० को ६ महिनामा सात प्रतिशतले गिरावट रहेको यस्तो प्रकृतिको कर्जा चालु आवको सोही अवधिमा १० प्रतिशतभन्दा बढी विस्तार भएको हो । गत असार मसान्तमा ७४ अर्ब ८७ करोड रुपैयाँ यस्तो कर्जा विस्तार भएकोमा त्यसयताका हरेक महिनामा बढ्दो क्रममा छ ।

गत आवमा बैंकिङ प्रणालीमा तरलता अभाव रहेकाले समग्र कर्जा विस्तार नै प्रभावित भएको थियो । तर, चालु आवको सुरुवातदेखि नै प्रणालीमा तरलता रहँदा यस प्रकृतिको कर्जा विस्तार भएको जानकारहरू बताउँछन् । अन्य क्षेत्रमा भने बजार माग कम भएको तथा उपभोक्ताको क्रयशक्ति कमजोर बनेकाले पनि कर्जा प्रवाह अपेक्षाकृत रुपमा बढ्न सकेको छैन ।

अहिले बैंकहरूसँग लगानी गर्न सक्ने क्षमता उच्च छ । राष्ट्र बैंकका अनुसार फागुन १ गते बैंकिङ प्रणालीको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.२४ प्रतिशत छ । कर्जा प्रवाहका क्रममा यस्तो रेसियो न्यूनतम ९० प्रतिशत राख्नैपर्ने व्यवस्था भएकोमा कर्जा दिने क्षमता उच्च भएर रेसियो तल झरेको हो । यस्तै, अन्तरबैंक कर्जाको भारित औषत ब्याजदर ३.०१ प्रतिशत छ ।

पुँजी बजारका जानकार देव गुरागाईं गत आवको तुलनामा अहिले सेयर धितो कर्जा विस्तार बढी हुनुको मुख्य कारण बैंकहरूमा तरलता पर्याप्त रहनुलाई मान्छन् । प्रणालीमा तरलता बढेपछि ब्याजदर समेत घट्दै गएको र कर्जा विस्तार बढिरहेको उनको भनाइ छ । पछिल्लो समय सेयर बजारमा लगानीको वातावरण तयार हुँदै गएको, कतिपय नीतिगत कठिनाइहरूलाई राष्ट्र बैंकले सम्बोधन गरेको, कर्जाको ब्याजदर घट्दै गएको तथा बैंकमा तरलता पर्याप्त मात्रामा रहेको जस्ता कारण मार्जिन प्रकृतिको कर्जा बढेको जानकारहरू बताउँछन् । कर्जाको ब्याजदर घट्दो दरमा रहेका कारण पनि यस्तो कर्जा बढिरहेको गुरागाईं बताउँछन् । ‘बैंकको बेस रेट घटेपछि यस्तो कर्जा विस्तार झनै बढ्छ,’ उनले भने ।

गत आवको सुरुवातदेखि नै सेयर धितोमा जाने कर्जा क्रमशः घट्दो क्रममा थियो । तर, चालु आवको साउनदेखि नै यस्तो कर्जा क्रमशः बढ्दो क्रममा रहेको देखिन्छ । गत असोजमा चालु आवको मौद्रिक नीतिको पहिलो समीक्षा गर्दै राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएको छ । जसअनुसार अहिले व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड रुपैयाँसम्म यस्तो कर्जा लिन सक्नेछन् । विगतमा एक व्यक्ति वा संस्थाले यस्तो कर्जा १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था रहेकोमा केन्द्रीय बैंकले त्यसलाई बढाएको हो । राष्ट्र बैंकले पहिलो समीक्षामार्फत जोखिम भार घटाउने र कर्जाको सीमा बढाउने नीति लिएपछि सेयर धितो कर्जाको विस्तार थप बढेको हो ।

गत आवको साउनमा ७६ अर्ब ८० करोड रुपैयाँ मार्जिन प्रकृतिको कर्जा विस्तार भएको थियो । तर, सो आवको असोजमा बाहेक अन्य सबै महिनामा यस्तो प्रकृतिको कर्जा विस्तार घट्यो । गत आवको असोजमा यस्तो कर्जा ७६ अर्ब ३३ करोड रुपैयाँ प्रवाह भएको थियो । त्यसबाहेक गत आवको पुसमा यस्तो कर्जा प्रवाह घटेर ७४ अर्ब ८७ करोड रुपैयाँमा संकुचित हुन पुग्यो । अर्थतन्त्रमा आएको शिथिलता, उच्च ब्याजदर, नियामकीय कडाइजस्ता कारणले सो समयमा कर्जा लिने अवस्था नै नरहेको सेयर बजारका जानकारहरू बताउँछन् । तर, चालु आवको सुरूदेखि नै सेयर बजारप्रति माहोल सकारात्मक बन्दै गयो । जसअनुसार सेयर धितो कर्जा विस्तार पनि बढ्दै गयो ।

चालु आवको साउनमा ७६ अर्ब ४१ करोड रुपैयाँ सेयर धितो कर्जा विस्तार भएकोमा हरेक महिना यो क्रमशः बढ्दै पुससम्ममा ८४ अर्ब २९ करोड रुपैयाँ प्रवाह भएको छ । चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिमक समीक्षामार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभर १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारेको छ ।

राष्ट्र बैंक नीतिगत रुपमा सेयर बजारप्रति लचक बन्दै जाँदा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने कर्जा पनि बढ्न थालेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार पुससम्ममा एक करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा १४.७ प्रतिशतले बढेको छ । पुससम्ममा एक करोड रुपैयाँभन्दा माथिको यस्तो कर्जा ५१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा एक करोड रुपैयाँसम्मको सेयर धितो कर्जा ११ अर्ब ७७ करोड रुपैयाँ प्रवाह भएको थियो ।

यसैगरी ५० लाख रुपैयाँदेखि एक करोडसम्मको सेयर धितो कर्जा ८.६ प्रतिशतले बढेर १२ अर्ब ७८ करोड पुगेको छ । असार मसान्तमा यस्तो कर्जा ११ अर्ब ७७ करोड रुपैयाँ पुगेको थियो । राष्ट्र बैंकका अनुसार २५ लाख रुपैयाँदेखि ५० लाखसम्मको सेयर धितो कर्जा २ प्रतिशतले बढेर १२ अर्ब ३ करोड पुगेको छ । असार मसान्तमा यस्तो कर्जा १२ अर्ब ७८ करोड थियो ।

तथ्यांकअनुसार २५ लाख रुपैयाँभन्दा कम सेयर धितो कर्जा १.९ प्रतिशतले बढेर ७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा ७ अर्ब ३ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह भएको थियो । सेयर बजार बढ्ने मनोविज्ञान रहेकाले पनि यसतर्फ लगानी बढ्दै गइरहेको जानकारहरू बताउँछन् । सेयर बजारमा सुधार हुँदै जाँदा कर्जा लिने माहोल समेत बनेकाले यसतर्फ कर्जा बढेको गुरागाईंको भनाइ छ । आगामी दिनमा कर्जाको ब्याजदर झनै घट्ने अवस्था आउने भन्दै उनले यसले सेयर धितो कर्जा झनै बढ्ने बताए । ‘अहिले सेयर धितो कर्जा जुन हिसाबले बढिरहेको छ, त्यो सकारात्मक छ,’ उनले भने । यो खबर कारोबार दैनिकमा प्रकाशित छ ।

Exit mobile version