घरायसी कामको मुल्याकंन गर्न माग

विश्वभरका महिला नेताहरुले महिलाको घरायसी कामको मुल्याकंन गरी राज्यसंग लगानीको माग गरेका छन् । घरायसी कामको बोझले सार्वजनिक स्थानमा महिलाको सहभागीतालाई बाधा पुर्याएको हुदा त्यसको मुल्याकंन राज्यले गर्नुपर्ने महिला नेताहरुको भनाइ छ । 

काठमाडौमा जारी विश्व सामाजिक मन्च २०२४ को सन्दर्भमा आयोजित “राजनीतिमा लैंगिक मुलप्रबाहीकरणः महिला प्रतिनिधित्व” बिषयक विश्व महिला सम्मेलनमा घोषणापत्र जारी गर्दै महिला नेताहरुले यस्तो माग राखेका हुन् । 

अखिल नेपाल महिला संघको आयोजनामा भएको विश्व सम्मेलनले ८ बुँदे घोषणापत्र जारी गरेको छ । जसमा राजनीतिक दलहरू, नेताहरू र सरकारहरूसंग निर्णय प्रकृया र शासनप्रणालीमा महिला प्रतिनिधित्व सुनिश्चित गर्ने विगतका प्रतिबद्धताहरू पूरा गर्न र राजनीतिमा महिलाको समान र अर्थपूर्ण सहभागिताको सुनिश्चित गर्न माग गरीएको छ । 

त्यस्तै महिला र अन्य सीमान्तकृतहरूको समानुपातिक प्रतिनिधित्वका लागि कोटाको प्रावधान, निर्वाचनमा हुने खर्च नियन्त्रण, हिंसाको अनुगमन र लैङ्गिक उत्तरदायी निर्वाचन प्रक्रियाहरू अपनाउन पनि विश्वभरका संसदहरूलाई आग्रह गरिएको छ । 

सम्मेलनले धार्मिक कट्टरवाद, सैन्यीकरण र युद्धहरूले महिला र बालिकाहरूको सुरक्षालाई खतरामा पारेको भन्दै उनीहरुको सुरक्षा र समान अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । सम्मेलनले विश्वमा महिलाहरुका धेरै सवालहरुमा समानता रहेको भन्दै सरकार र राजनीतिक संस्थाहरूलाइ बढि समावेशीता र लैंगिक समानताको लागि जवाफदेही बनाउन संयुक्त दबाब दिन आग्रह गरेको छ । 

सम्मेलनमा भारत, साउथ अफ्रिका, बंगलादेश, मलेसिया लगायतका देशका महिला नेताहरुले आफ्नो देशमा महिलाको राजनीतिक सामाजिक अवस्थाका बारेमा जानकारी दिएका थिए । उनीहरुले पनि महिलाको मुद्दामा आफुहरुको एकेवद्धता रहेको बताएका छन् । 

प्रमुख अतिथिका रुपमा सहभागी नेकपा एमालेका महासचिव शंकर पोखरेलले मन्तब्य राख्दै युरोपका महिलाको अवस्था भन्दा राजनीतिक सहभागीताको हिसावले नेपाली महिलाको अवस्था राम्रो रहेको बताए । तर राजनीतिक सहभागीताले मात्र महिलाको सामाजिक अवस्था भने माथि उठ्न नसक्ने उनको भनाई थियो ।

Exit mobile version