पिपरीदेखि दक्षिणतर्फ हत्या गरी जलाएर गाडिएको अवस्थामा पुरुषको शव फेला

कपिलवस्तु नगरपालिका ४ पिपरी गाउँदेखि दक्षिणतर्फको नहरको कुलोमा हत्या गरी गाडिएको अवस्थामा पुरुषको शव फेला परेको छ । आइतबार साँझ ६ बजेतिर कोदाहवा चोकदेखि दक्षिण पाँच सय मिटर नहरको कुलोमा टाउको नभएको शव खाल्टोमा गाडिएको अवस्थामा फेला परेको हो ।

वडाध्यक्ष रवीन्द्र तिवारीलाई स्थानीयले खबर गरेपछि त्यसबारे उनले प्रहरीलाई जानकारी गराएका थिए । आइतबार साँझ शवको घुँडाको भाग मात्र देखिएको थियो । सोमबार बिहान खनेर पुरुषको शव निकालिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए । अन्यत्रै हत्या गरी टाउको छिनालेर कुलोमा खाल्टो बनाई शव गाडिएको हो । शरीर र यौनांग जलेको अवस्थामा रहेको छ । पुरुषले जिन्सको सट लगाएको र नाडीमा धागोसमेत बाँधिएको अवस्थमा रहेको छ । टाउको भने अझै फेला परेको छैन ।

प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर शवको मुचुल्का गरेको छ । घटनास्थलमा तालिम प्राप्त ककुरसहित टोली परिचालन गरिएको छ । मृतकको अझैसम्म पहिचान भने नखुलेको प्रहरी उपरीक्षक पौडेलले बताए । शव पोस्र्टमका लागि कपिललस्तु अस्पताल लगिएको छ । घटनाको अनुसन्धान भइरहेको पौडेलले बताए । हत्यारा जोकोही भए पनि पत्ता लगाउने उनले बताए ।

Exit mobile version