भारतलाई दिएकै मूल्यमा बंगलादेशलाई बिजुली

नेपाल विद्युत् प्राधिकरणले भारतलाई दिएकै मूल्यमा बिजुली बेच्ने गरी बंगलादेशलाई प्रस्ताव पेस गरेको छ । भारतलाई प्रतियुनिट करिब ९ रुपैयाँसम्ममा बिजुली बेचिरहेको छ । प्राधिकरणले बंगलादेशलाई पनि सोही मूल्यमा बिजुली बेच्ने गरी प्रस्ताव पठाएको स्रोतले जनाएको छ ।

प्राधिकरणले फेब्रुअरीको पहिलो साता बंगलादेशको पावर डेभलपमेन्ट बोर्डमा भारतकै महसुल बराबर बिजुली बेच्ने दरसहित प्रस्ताव पेस गरिसकेको छ । ‘प्राधिकरणले प्रतियुनिट ६.७ सेन्ट (मंगलबारको विनिमय दरअनुसार ८ रुपैयाँ ९१ पैसा’ मा बिजुली बेच्ने गरी प्रस्ताव पेस गरिसक्यो, बिजुली खरिदबिक्रीको मूल्य भने दुई देशको आपसी समझदारीमा टुंगिन्छ,’ स्रोतले भन्यो, ‘प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकसहितको टोली आपसी समझदारीका लागि बंगलादेश जाँदै हुनुहुन्छ ।’

मूल्यमाथिको छलफलका लागि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बुधबार बंगलादेश जाँदै छन् । ‘मूल्यको विषयमा अहिले नै यकिन भन्न सकिँदैन,’ घिसिङले भने, ‘हामीले गरेको प्रस्तावमाथि यसैसाता बंगलादेशसित छलफल हुँदैछ । समझदारी जुट्यो भने बंगलादेशको मन्त्रिपरिषद्ले निर्णय गरी सम्झौताको प्रक्रिया अगाडि बढ्छ ।’ त्यसपछि मात्रै बंगलादेशसँग बिजुली बिक्रीको औपचारिक बाटो खुल्ला हुनेछ । प्राधिकरणले बिजुली बिक्रीबापतको मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । यो दर जुन १५ देखि नोभेम्बर १५ सम्मका लागि प्रस्ताव गरेको हो । सम्झौता अवधि ५ वर्ष हुनेछ ।

Exit mobile version