फुडलेन : नेपालगन्जका लागि अवसर

नेपालगन्जमा स्ट्रिट फुड लेन सञ्चालनमा लागि छलफल अघि बढेको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुरले नेपालगन्ज उपमहानगरपालिकासँग रैथाने खाना संरक्षणका लागि रात्रीकालिन फुड लेन सञ्चालनका स्थान एकिन गर्न पत्राचार गरेपछि त्यसका लागि पहल अघि बढेको हो ।


नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), बाँके च्याप्टरले फुड लेन र रात्रीकालीन बजारका लागि स्थानीय तहदेखि प्रदेश सरकारसम्म पहल गर्दै आएको थियो ।
नाट्टाकै पहलमा बुधबार नेपालगन्जमा सरोकारवाला बीच स्ट्रिट फुड लेन सञ्चालनका लागि छलफल आयोजना गरिएको छ । छलफलमा सहभागी वक्ताहरुले पर्यटन डिभिजन कार्यालयबाट आएको कार्यक्रम नेपालगन्जका लागि अवसर भएको बताएका थिए । यसअघि पनि रात्रीकालीन बजारका लागि गरिएको प्रयास स्थगित भएको थियो । यसपटक पर्यटन डिभिजनले समेत सघाउने भएपछि त्यसलाई परिणाममूखि बनाउन सबैले सहयोग गर्नुपर्ने सहभागीहरुले धारणा राखेका थिए ।


नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले छलफल कार्यक्रमको अध्यक्षता गर्दै व्यवसाय प्रवद्र्धनका लागि एउटा पाइला स्ट्रिट फुड लेन सञ्चालन भएको बताए । उनले नेपालगन्जका लागि अवसर समेत रहेकाले उद्योग वाणिज्य संघले पूर्ण रुपमा सघाउने प्रतिबद्धता व्यक्त गरे ।


नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले स्ट्रिट फुड लेन सञ्चालनका लागि पर्यटन व्यवसायी, उद्योगी, व्यवसायी, स्टीट फुड पस्कदै आएका सरोकारवाला, पर्यटन डिभिजन कार्यालयका प्रतिनिधि बीच छलफल भएको बताए । उनले स्ट्रिट फुड लेन सञ्चालन व्यवसाय प्रवद्र्धनका लागि लाभदायक हुने बताए । ‘हामीले यसअघि पनि पहल गरेका थियौं, अब यसलाई अगाडि बढाउन पहिले गरिएकै पहल अनुसार अघि बढ्छौं’, उनले भने । नाट्टा बाँकेका अध्यक्ष सिग्देलले स्ट्रिट फुड लेन सञ्चालनका लागि व्यवसायी, स्थानीय तह र प्रहरी, प्रशासनबाट सहयोग पाउनेमा ढुक्क रहेको आशा व्यक्त गरे ।


नाट्टा बाँके अध्यक्ष श्रीराम सिग्देलले हाइजेनिक हुने व्यवस्था मिलाएर रैथाने खानाको स्ट्रिट फुड लेन आगामी फागुन मसान्तसम्म सञ्चालन गर्ने लक्ष्य रहेको सुनाए ।
नाट्टा बाँकेका महासचिव झवि न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा पर्यटन डिभिजन कार्यालय कोहलपुरका कार्यक्रम अधिकृत टंक खनालले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै रैथाने खानाको प्रवद्र्धन प्रदेश सरकारको नीति रहेको बताएका थिए । उनले स्ट्रिट फुड लेन रैथाने खाना प्रवद्र्धनका लागि प्रभावकारी हुने विश्वास व्यक्त गर्दै स्वास्थ्यका दृष्टिकोणले स्वस्थ हुनुपर्ने बताए । त्यसका लागि थोरै भएपनि अनुदान दिइने उनले बताए । पर्यटन डिभिजन कार्यालय बाँकेले रैथाने खाना प्रवद्र्धनका लागि त्यससँग सम्बद्ध व्यवसायीहरुलाई तालिमको समेत व्यवस्था गरेको छ ।


कार्यक्रममा वडा नं. ११का वडाध्यक्ष नन्दकिशोर कश्यपले वडाको तर्फबाट स्ट्रिट फुड लेनको सजावट गर्ने, ट्वाइलेट र खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, नाट्टाका सल्लाहकार मिन बहादुर मल्लले स्ट्रिट फुड लेनको नेपालगन्जमा सम्भावना र त्यसबाट हुन सक्ने लाभका बारेका धारणा राखेका थिए ।

लखेरको अध्यक्षतामा प्रवद्र्धन समिति

स्ट्रिट फुड लेन सञ्चालनका सम्बन्धमा बुधबार नेपालगन्ज उद्योग वाणिज्य संघमा भएको छलफल पछि अंकुर लेखरको अध्यक्षतामा नेपालगन्ज फुडलेन प्रवद्र्धन समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा बाबु कवडिया, सचिवमा मुकेश हलवाई, कोषाध्यक्षमा कैलास रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा महेस साहु, रोहित लखेर, मुकेश साहु, रामकुमार काँदु, निरज जैसवाल लगायत सदस्य छन् ।

त्रिभुवन चोकमै तयारी

नेपालगन्जमा स्ट्रिट फुड लेनका लागि त्रिभुवन चोक नै उपयुक्त हुने गरी सञ्चालनको तयारी अगाडि बढाइएको छ । नेपालगन्जको पुरानो बजार समेत रहेको त्रिभुवन चोक रातीसम्म चहलपहल हुने भएकाले पनि नेपालगन्जमा स्ट्रिट फुड लेन सञ्चालनका लागि त्रिभुवन चोक रोजाईमा परेको हो ।


यसअघि नाट्टा बाँकेले नेपालगन्जमा स्ट्रिट फुड लेन सञ्चालनका लागि त्रिभुवन चोक नै छनोट गरेर पहल गरेपनि स्थगित भएको थियो ।


‘त्रिभुवन चोक नै स्ट्रिट फुड लेन सञ्चालनका लागि उपयुक्त हुने धारणा अधिकांसमा पाइएको छ’, नाट्टा बाँकेका महासचिव झवि न्यौपाने भन्छन्, ‘त्यसैले त्रिभुवन चोक लाइन नै टार्गेट गरेर पहल अगाडि बढाइएको छ ।’

Exit mobile version