बाँके निकुञ्जमा तस्करी र गस्ती टोलीबीच गोली चल्यो

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट चोरी सिकारीमा प्रयोग हुने दुई थान अवैध बन्दुकसहितको हातहतियार सुरक्षाकर्मीले बरामद गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीको संयुक्त गस्ती टोलीले राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ स्थित शिवखोलाको सीमानामा चुरेको सिरान क्षेत्रबाट अवैध हातहतियार बरामद गरेको हो ।

निकुञ्जभित्र प्रवेश गरी चोरी सिकारीमा संलग्न व्यक्तिले प्रयोग गरेको अवैध हतियार र वन्यजन्तुको सुकुटी बरामद गरिएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी कुननारायण चौधरीले जानकारी दिए । उनका अनुसार बरामद गरिएका हातहतियारमा एक थान बाह्रबोर बन्दुक, एक थान भरुवा बन्दुक र उक्त हतियारमा प्रयोग हुने गोली, तीनवटा खुकुरीलगायत बन्दोबस्तीका सामान छन् । दुई किलो जति वन्यजन्तुको सुकुटी पनि बरामद गरेको छ । 

चोरी सिकारीमा संलग्नले गस्ती टोलीमाथि दुई राउण्ड गोली फायर गरेपछि प्रतिकारमा गस्ती टोलीले चार राउण्ड जवाफी फायर गरेको र त्यसपछि उनीहरु भागेको जनाइएको छ ।

Exit mobile version