प्रसूति गृहबाट चोरिएको शिशु भेटियो, गर्भ खस्ने समस्याले आजित भएर चोरी

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पातलबाट शुक्रबार चोरी भएको शिशु चोरीमा संलग्न महिलासहित फेला परेको छ। सिसिटिभी फूटेज पछ्याउँदै जाँदा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले शुक्रबार राति १२ बजे नै काँडाघारीबाट शिशुको उद्धार गरी चोरीमा संलग्न महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दैलेख घर भएकी मनकुमारी सिंह रहेको प्रहरीले जनाएको छ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घरभई अहिले कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार २६ दिनको शिशुसहित नियमित चेकजाँचका लागि प्रसूति गृह आएकी थिइन्। सोही क्रममा सहयोग गर्ने बहानामा सिंहले बच्चा समातेकी थिइन्। त्यसपछि थाहा नदिई बच्चा बोकेर त्यहाँबाट निस्केकी थिइन्। त्यहाँबाट निस्किएर उनले ट्याक्सी लिई पेप्सीकोलासम्म ट्याक्सीमा गएकी थिइन्। पेप्सीकोलाबाट भने झण्डै डेढघन्टा पैदल हिँडेको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकी सिंहले आफ्नो पेटमा गर्भ नटिक्ने समस्या भएकाले शिशु चोरेको स्वीकार गरेकी छन्। प्रहरीका अनुसार सिंह अन्दाजी २४/२५ वर्षकी छन्। उनको तीनचार वर्षअघि जति विहे भएको देखिन्छ। उनका श्रीमान नेपाली सेनामा कार्यरत छन्।
सिंहले प्रहरीसँग विहेपछि पटकपटक गर्भ बसे पनि खस्ने गरेको बयान दिएकी छन्। पछिल्लो पटक पनि उनी गर्भवती थिइन्, तर केही समय अघि खसेको देखिन्छ।

Exit mobile version