किड्स किङडमले मनायो बार्षिकोत्सव

किड्स किङडमले आफ्नो स्थापनाको सातौं बार्षिकोत्सव शनिबार भव्य कार्यक्रम गरी मनाएको छ । दुई सय बढी स–साना बालबालिकाको सिर्जनात्मक प्रस्तुतिहरू सहितको बार्षिकोत्सवमा अभिभावकहरूले आफ्ना सन्तानलाई शिक्षासँगै खेलकुद, संगीत, नाटक लगायत विभिन्न सिर्जनात्मक कार्यमा लगाएको भन्दै विद्यालय व्यवस्थापनको खुलेर प्रशंसा गरे ।


कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष गोपाल पुनले संस्थागत विद्यालय नियमन र सामुदायिक विद्यालय सुधारमा आफ्नो ध्यान लागिरहेको बताए । नगर शिक्षा अधिकारी गोर्ख बहादुर थापाले विद्यार्थीलाई पाठ्यक्रमसँगै बाहिरी ज्ञान विद्यालयबाटै उपलब्ध गराउन सुझाव दिए ।


किड्स किङडमका सिइयो डा. राजकुमार सुवेदीले बालबालिकाको सिर्जनशील अभ्यासमा विद्यालयले गरेको विभिन्न प्रयासहरू जानकारी दिंदै आफ्ना सन्तानसँग नियमित अन्तरक्रिया गर्न अभिभावकहरूलाई आग्रह गरे । प्रिन्सिपल प्रकृति पाण्डेले बालबालिकाको उज्यालो भविष्यका लागि आधारभूत तहमै प्रभावकारी शिक्षा प्रदान गर्न आफुले गरेको प्रयास बारे जानकारी दिइन् । अभिभावकका तर्फबाट डा. पंकज गुप्ता, डा. शर्मिला गुप्ता, पत्रकार झलक गैरे लगायतले धारणा राखेको कार्यक्रमको अध्यक्षता नेपाल एजुकेशनल फाउण्डेसनका कार्यवाहक अध्यक्ष माधव प्रसाद अधिकारीले गरेका थिए ।


विद्यालयमा बर्षभरी अध्ययन गरेर विभिन्न प्रतिस्पर्धात्मक परिणाममा अगाडि आउन सफल विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष गोपाल पुन, विद्यालयका कार्यवाहक अध्यक्ष माधव अधिकारी, सिइयो डा. राजकुमार सुवेदी लगायतले अवार्ड प्रदान गरे ।

Exit mobile version