सहकारी वित्तिय संस्था सम्बन्धी मुद्दा निरन्तर सुनुवाईमा

एक हजार पाँच सय २५ जना जाहेरीकर्ता ७८ करोड ८८ लाख ४४ हजार दुई सय आठ रूपैयाँ हिनामिना दाबी गरिएको मुद्दाका पीडितहरू चार वर्षदेखि सडकदेखि न्यायालयसम्म न्यायको याचना गरिरहेका छन् । उनीहरूले खाइनखाई जम्मा गरेको रकम हिनामिना गरेर सहकारीले बिल्लिबाँठ पारिदिएको छ । पीडितहरू कतिको सहकारीमा जम्मा भएको रकम प्राप्त भएमा छोराछोरीको विवाह गर्ने सपना अधुरै छ भने अधिकांशको आर्थिक जीवन नै अस्तव्यस्त छ ।

सम्भवतः बाँके जिल्लाको न्यायिक इतिहासमा सबैभन्दा धेरै जाहेरीकर्ताहरू रहेको सहकारी वित्तीय विकास संस्था लिमिटेड बाँकेको मुद्दा अब निरन्तर सुनुवाईमा गएको छ । बाँके जिल्ला अदालतले सहकारी वित्तीय विकास संस्था लिमिटेड बाँकेको मुद्दालाई पुस ३ गते मंगलबारदेखि निरन्तर सुनुवाईमा राखेको हो । मुद्दा निरन्तर सुनुवाईमा राखिएसँगै पीडितहरूमा चाडै न्याय मिल्ने आशा जागृत भएको छ । अदालतका सूचना अधिकारी हेमन्त भट्टराईका अनुसार जाहेरीकर्ताका तर्फबाट वकिलहरूले बहस सकेर प्रतिवादी तर्फका वकिलहरूले बहस गर्नेक्रम चलिरहको छ ।

सहकारी बचत सहकारीको तीनजना अध्यक्षहरूको कार्यकालका सन्चालक समिति र कर्मचारीलगायत ४१ जना विपक्षीहरू रहेको उक्त मुद्दालाई चासोका साथ हेरिएको छ । जाहेरीकर्ताका तर्फबाट बहस पैरवीका साथै पीडितहरूको न्यायका लागि निरन्तर अभियान चलाइरहेका वरिष्ठ अधिवक्ता विजय गुप्ता न्यायका लागि पीडितहरूले चार वर्षसम्म चरम मानसिक तनाव व्यहोरेको बताउँछन् । अब चाडै पीडितहरूले न्याय पाउनेमा आशा बढेको उनले बताए । ‘प्रतिवादीका तर्फका विद्धान साथीहरूले पनि अपचलन भएकै हो, जनताहरू पीडित छन् भन्ने कुरामा पूर्ण सहमतिका साथ बहस प्रस्तुत भएको देखिएको छ । अब कसको कति दायित्व हुने, को दोषी हुने, को निर्दाेष हुने भन्नेकुराको निक्र्याैल अदालतले गर्नुपर्ने अवस्था छ,’ गुप्ताले भने ।

जाहेरीकर्ताका तर्फबाट वरिष्ठ अधिवक्ता गुप्ता, अधिवक्ता पुनम श्रेष्ठसहित सरकारी वकिलले बहस गरिरहेका छन् भने प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, अधिवक्ताहरू टिकाजंग सिंह, कौशल वर्मा, धु्रव बस्याल, शक्तिसिंह हमाल, पदम पाण्डे, माधव शर्मालगायत एक दर्जन कानुन व्यवसायीहरू रहेका छन् । आइतबारसम्म प्रतिवादीतर्फका वकिलहरूको बहस हुनसक्ने र त्यसपछि पुनः वादीतर्फका वकिलहरूको बहस सुनेर अदालतले फैसला दिने अधिवक्ता गुप्ताले बताए ।

सहकारी वित्तिय संस्था बाँकेका बचतकर्ताको रकम अपचलन भएको भन्दै २०७६ साल असोज २८ गते बाँके जिल्ला अदालतमा एक हजार नौ जनाको सुरु जाहेरी दर्ता भएको थियो । जसमा सहकारी सन्चालक समितिका अध्यक्षत्रय सिद्धिकुमार महर्जन, अम्मरबहादुर खड्का र हरदेवबक्स चौधरीसहित ४१ जना प्रतिवादी रहेका छन् । पछि थप पाँच सय १७ जनाको जाहेरी परेको थियो । प्रतिवादीहरूले संस्थाको नगद मौज्दात, बैंक मौज्दात र शेयर पुँजीसहित ४३ करोड दुई लाख ५३ हजार ९५ र निक्षेपकर्ताहरूको ३५ करोड ८५ लाख ९१ हजार एक सय १३ रूपैयाँ गरी ७८ करोड ८८ लाख ४४ हजार दुई सय आठ रूपैयाँ अपलचन गरेको दाबी गरिएको छ । अधिवक्ता गुप्ताले पीडितहरूले आफूले दुःख गरेर सहकारीमा जम्मा गरेको रकम हातमा प्राप्त नगरेसम्म न्यायको अनुभूति गर्न नसक्ने बताए । उनले अदालतले यस मुद्धामा दिने फैसला ऐतिहासिक हुने बताउँदै सहकारी क्षेत्रलाई बदनाम गराउनेगरी वर्तमान समयमा भइरहेका लापरबाही सुधारका लागि सबक पनि हुने उल्लेख गरे ।

Exit mobile version