नेपालगन्ज भन्सारमा क्यारिङ राजः दैनिक करोड बढी राजस्व चुहावट

विदेशबाट नेपाल भित्रिने एक सयभन्दा बढीको सामानमा भन्सार कर लगाउने सरकारको निर्णयले सीमावर्ती बजारका व्यापारी उत्साहित थिए । भन्सार नाकामा कडाइ हुँदा सीमावर्ती नेपाली बजारमा उत्पादनको माग वृद्धि हुने र स्वदेशमा वैध कारोबार प्रोत्साहित हुने वातावरण बन्ने भन्दै स्वदेशी व्यवसायीको अपेक्षा थियो । तर, सीमा क्षेत्रबाट भित्रिने सयभन्दा माथिका सामानमा पनि भन्सार तिर्नुपर्ने नीतिगत व्यवस्था कार्यान्वय नहुँदा स्वदेशी व्यापारी ठूलो मारमा परेका छन् । यसको प्रभाव नेपाली बजारमा मात्र होइन, राज्यले संकलन गर्ने बर्सेनि अर्बौं राजस्व पनि चुहावट भएको छ ।

पश्चिम नेपालको प्रमुख नाका जमुनाहमा क्यारिङकै राज छ । यहाँ खटिएका भन्सार कर्मचारी र सुरक्षाकर्मीहरुको मिलेमतोमा भारतीय बजारबाट सहजै भन्सार छलीका सामान नेपालगन्ज भित्रिने गरेका गुनासो नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीले बेलाबेला सार्वजनिक मञ्चहरुमा राख्दै आएका छन् । दैनिक कति नेपाली उपभोक्ता भारतीय बजार रुपैडिया जान्छन् ? उनीहरुले कतिसम्मको कारोबार गर्छन् र कति राजस्व चुहावट भएको हुन्छ ? यसलाई तथ्यगतरुपमा हेरौँ ।

सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिकरुपमा १२ हजार पाँच सयजना नेपाली उपभोक्ता किनमेलका लागि जाने गरेका बाँकेका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सीमा सुरक्षा पोष्टको प्रतिवेदनमा उल्लेख छ । उनीहरुले एकपटकमा न्यूनतम एक हजार पाँच सयदेखि ३० हजार रुपैयाँसम्मको सामान खरिद गर्ने गरेको र औषतमा दैनिक पाँच हजार रुपैयाँ बराबर खर्च गर्ने गरेको पाइन्छ । यो तथ्यांकको आधारमा नेपालगन्जस्थित जमुनाहा नाकाबाट हरेक दिन ६ करोड २५ लाख रुपैयाँ बाहिरिने गरेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले २०८० असोज १५ गतेको एक घण्टामा दुई हजार ६ सय ९४ जना जमुनाहा नाकाबाट भारत प्रवेश गरेको तथ्याङ्क संकलन गरेको थियो । यो तथ्यांकलाई आधार मान्दा दिनको १० घण्टा सीमा खुल्दा २६ हजार नौ सय ४० जना भारतमा किनमेल वा श्रम गर्न गएको देखिन्छ । फर्कंदा हरेक व्यक्तिले औसतमा पाँच हजार रुपैयाँ बराबरको सामग्री लिएर आएको पाइएको थियो । चाडपर्वका बेलामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट दैनिक ४० हजार जना किनमेलका लागि छिमेकी भारतीय बजार जाने गरेको सीमामा खटिएका प्रहरीको प्रतिवेदनबाट उल्लेख छ । सीमा नाका व्यवस्थित र प्रविधिमैत्री नहुँदा उल्लेखित भारतमा किनमेल गर्ने नेपालीले यो वा त्यो बहानामा राज्यलाई तिर्नु पर्ने कर नतिरेको र खटिएका प्रहरीको आँखा छलेका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले बताए । जसले दैनिक करोडभन्दा बढी राजस्व चुहावट भएको उनको भनाइ छ ।

नेपालगन्ज भन्सार कार्यालयले जमुनाहा नाका क्षेत्रमै कम्तीमा पनि ३० वटा भन्सार काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएर छिटोछरितो कर असुली गरेमा आयात गरिने सामानमा औसत २३ प्रतिशतका दरले मात्र भन्सार महसुल संकलन हुँदा पनि यो नाकाबाट दैनिक एक करोड ४३ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन हुने उनको भनाइ छ । नेपालगन्ज उद्योग वाणिज्य संघले तत्कालै भन्सार काउण्टरको संख्या वृद्धिका लागि पहल गर्न पनि माग गरेको छ ।

सय रुपैयाँभन्दा बढीको सामान आयात गर्दा भन्सार महसुल तिर्नु पर्ने प्रावधानलाई प्रभावकारी बनाउँदा मात्र बर्सेनि गुमेको अर्बौ राजस्व नियन्त्रण हुने उद्योगीको भनाइ छ । साथै मुख्य नाका जमुनाहसँगै खुला सीमाका कारण भित्री नाकाबाट समेत दैनिक करोडौं रुपैयाँ बराबरको सामान चोरीतस्करी हुँदै आएको छ ।

नेपालगन्ज भन्सार कार्यालयको माघमा २३ लाख १४ हजार दुई सय १२ रुपैयाँ राजस्व उठाउने लक्ष्य भए पनि जम्मा १३ लाख १८ हजार एक सय २२ रुपैयाँ मात्र राजस्व संकलन भएको छ । साउनयता कुनै पनि महिना लक्ष्यअनुसार राजस्व संकलन भएको छैन । दैनिक ठूलो परिणाममा नेपालगन्जमा सामान भित्रिने गरे पनि राजस्वले भने लक्ष्य भेटाउन सकेको छैन ।

भन्सारबाट हुने चोरीतस्करीको विषय पेचिलो हुँदै आएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए । सीमा सुरक्षाको विषय गृह मन्त्रालयअन्तर्गत भए पनि राजस्व र भन्सार जोडिएकाले अर्थ मन्त्रालयसँग पनि सम्बन्धित भएको बताएका छन् । यस विषयमा अर्थ मन्त्रालयसँग समन्वय गरेर सीमाबाट हुने चोरीपैठारी नियन्त्रण गर्न सम्बन्धित जिल्लाका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको उनको भनाइ छ ।

अवैध चोरीतस्करीका लागि पछिल्लो समय तीनवटा प्रयास भएका नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताए । रुपैडियाबाट नेपाल आउने रिक्सा र टाँगा पूर्णरुपमा प्रतिबन्ध, सीमा नियमित गस्ती र प्रमुख नाकामा यात्रु मार्ग निर्माणका कामले केही चोरीपैठारी नियन्त्रण भएका उनको भनाइ छ । ‘सामान्यतया आधा केजी दाल, दुई किलो चिनी, एक केजी तरकारीलगायत थोरथोरै सामान ल्याउने उपभोक्तालाई व्यवहारिकरुपले बलजफती गर्न सकिएको छैन,’ उनले दैनिक नेपालगन्जसँग भने, ‘त्यसरी आउँदा सयभन्दा माथि करिब एक/दुई हजार रुपैयाँसम्मको सामान भइहाल्छ ।’ यसमा केही प्राविधिक कुराले समस्या बनाएको उनी बताउँछन् । योबाहेक अन्य चोरीतस्करी भने कडाइका साथ नियन्त्रणका प्रयासहरु भइरहेको उनको भनाइ छ । यसमा एक्लोभन्दा पनि सामूहिक प्रयास अपरिहार्य भएको उनको भनाइ छ ।

Exit mobile version