टिकटकले बनायो नेपाली ‘कन्टेन्ट फिल्टर’ गर्ने प्रणाली, प्रतिबन्ध हटाउँदै सरकार !

प्रकाशचन्द्र जोशी

छोटो भिडियो सेयरिङ प्लेटफर्म टिकटकले नेपाल सरकारको ‘गाइडलाइन’ अनुसार ‘कन्टेन्ट फिल्टर’ गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिबद्धताअनुसार परीक्षणका क्रममा ‘कन्टेन्ट फिल्टर’ भएमा टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको तयारी छ ।

सामाजिक सद्भाव भड्काउने काम भएको निष्कर्ष निकालेको सरकारले गत कार्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । सरकारले टिकटकलाई अश्लील, हिंसा एवम् सामाजिक सद्भाव भड्काउने सामग्री रोक्न आग्रह गरेको थियो । त्यतिबेला टिकटकले आफूहरूसँग अन्तर्राष्ट्रिय मापदण्ड रहेको र नेपालका लागि पनि सोही मापदण्ड लागु हुने भनेको थियो ।

गत नोभेम्बरमा टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रमा नेपालको कानुन मानेर नकारात्मक कन्टेन्ट हटाइरहँदा पनि प्रतिबन्ध गरिनु अभिव्यक्ति स्वतन्त्रताविपरीत भएको बताएको थियो । अहिले भने टिकटकले नेपाल सरकारले बनाएको मापदण्ड लागु गर्न आफू तयार रहेको बताएको हो । करिब दुई साताअघि टिकटकको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको थियो । भेटमा टिकटकका अधिकारीहरूले आफूहरू नेपाल सरकारले भनेअनुसार ‘कन्टेन्ट फिल्टर’ गर्न र अन्य गाइडलाइनहरू मान्न तयार रहेको बताएका थिए । टिकटकको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पनि भेटेको थियो ।

कसरी फिल्टर गर्छ नेपाली कन्टेन्ट ?

टिकटकले आफ्नो प्लेटफर्ममा अपलोड हुने नेपाली भाषाका भिडियो, अडियो, अक्षर र लाइभ सबै फिल्टर गर्न सक्ने सिस्टम विकास गरेको दाबी गरेको छ ।

‘टिकटकले नेपाली भाषाको अडियो, भिडियो, अक्षर र लाइभ फिल्टर गर्ने सिस्टम बनाएको भनेको छ । त्यसमा हामीले नेपालीमात्रै नभएर नेपालभित्र बोलिने अन्य प्रमुख चार/पाँच भाषा पनि समेट्न भनेका छौँ,’ प्रधानमन्त्रीका सूचना तथा प्रविधि (आईटी) विज्ञ प्रकाश रायमाझीले भने । उनका अनुसार सुरुमा अन्तर्राष्ट्रिय मापदण्ड नै नेपालको हकमा लागु हुने बताएको टिकटकले अहिले नेपाल सरकारको दिशानिर्देश मान्न तयार रहेको बताएको छ ।

‘कन्टेन्ट फिल्टर’ सफल भए टिकटकमाथिको प्रतिबन्ध हटाउने गरी सरकारले तयारी गरिरहेको उनले बताए ।

‘प्रतिबद्धता गरेर मात्रै भएन । उसले विकास गरेको त्यो सिस्टमले काम गर्छ कि गर्दैन भनेर सरकारले परीक्षण गर्छ । परीक्षण सफल भयो, गलत किसिमका कन्टेन्ट फिल्टर हुने देखियो भने टिकटक खुलाउने सरकारको तयारी छ,’ प्रधानमन्त्रीका आईटीविज्ञ रायमाझीले भने ।

गाइडलाइन विपरीतका कन्टेन्ट हटाउन टिकटकले ‘मानिस र मेसिनमा आधारित उपकरण’मा ठूलो लगानी गरेको बताएको छ । त्यसैअनुसार अश्लील, हिंसात्मक एवं सामाजिक सद्भाव बिगार्ने किसिमका नेपाली भाषाकै शब्द, आवाज र भिडियो ब्लक गर्ने वा हटाउने प्रविधि विकास गरेको टिकटकको दाबी छ । यसै प्रणालीलाई बलियो बनाउन टिकटकले नेपाली भाषी बजार विश्लेषकका लागि विज्ञापनसमेत खुलाएको छ । टिकटकमा कस्ता–कस्ता कन्टेन्ट फिल्टर गरेर हटाउने भन्ने निर्णय सरकारले गर्न सक्छ ।

नेपालकै लागि भनेर छुट्टै सिस्टम बनाउन किन तयार ?

प्रयोगकर्ताको संख्याका आधारमा विभिन्न देशको तुलनामा नेपाल टिकटकका लागि सानो बजार हो । नेपालको कुल इन्टरनेट ब्यान्डविथको झन्डै आधा हिस्सा टिकटकमै खपत हुने गरेको थियो । त्यसैले पनि टिकटकले नेपाललाई प्राथमिकतामा राखेर सरकारले भने अनुसार मान्न तयार भएको देखिन्छ ।

‘नेपालको झन्डै ५० प्रतिशत इन्टरनेट ब्यान्डविथ टिकटकमा खपत हुने गरेको तथ्यांक उनीहरूले देखाएका थिए । त्यसै कारणले नेपालकै लागि भनेर छुट्टै कन्टेन्ट मोडरेसन टुल बनाउँन उनीहरू तयार भएको हुनुपर्छ,’ रायमाझीले भने । सञ्चारमन्त्री शर्माले पनि टिकटकले जथाभाबी कन्टेन्ट हटाउने गरी अल्गोरिदम विकास गरेपछि खुला गर्न सकिने बताउँदै आएकी छन् ।

प्रधानमन्त्री प्रचण्डले फागुन ६ गतेको प्रतिनिधिसभा बैठकमा बोल्दै टिकटक खुला गर्न सकिने टिप्पणी गरेका थिए । टिकटकका प्रतिनिधि नेपाल आएर सम्बन्धित निकायहरूसँग छलफल गरिरहेको बताउँदै उनले भनेका थिए, ‘टिकटकले गरेका प्रतिबद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चिता भएको खण्डमा यसलाई नियमित गर्न नसकिने हैन ।’ यसअघि माघ अन्तिम साता टिकटकले नेपालको कानुनी प्रकिया मान्न र प्रत्यक्ष गुनासो राख्ने निकाय खोल्न तयार भएको प्रतिबद्धतासहित सञ्चार मन्त्रालयलाई पत्र पठाएको थियो ।

कम्पनीले थप नेपाली भाषी जनशक्ति राख्ने, देशव्यापी इन्टरनेट सुरक्षा अभियान र शैक्षिक विषवस्तु डिजिटलाइज गर्ने प्रतिबद्धता व्यक्त गर्दै टिकटकमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो ।

यो खबर बाह्रखरीमा प्रकाशित छ ।

Exit mobile version