अराजक वडाध्यक्ष, कठोर कर्मचारी र मारमा सेवाग्राही

?

मंगलबार करिब सवा १ बजेतिर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सराफत हुसैन शेष नगरको कार्यालयमा पुग्छन् । उनले अधैर्य र मर्यादाविपरीत हर्कत प्रस्तुत गर्छन् । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेर चर्को आवाजमा कर्मचारीप्रतिको असन्तुष्टि पोख्दै कार्यकक्ष बाहिर पुग्छन् । उनको आवेगलाई कुनै एकजनाले भिडियो कैद गरिरहेका हुन्छन् । क्यामेरा देखेर अझ उनी आदर्श झल्काउन खोज्छन् त्यो पनि उभद्रो शैलीमा ।

कमर्चारीले जनताको काममा ढिलासुस्ती गर्ने गरेको र समयमै कर्मचारी कार्यालयमा नआउने गरेको आक्रोस उनले व्यक्त गरे । उनको आक्रोस आम सर्वसाधारणले खेप्नु परेकै आक्रोस हो । नगरमा आउने अधिकांश सेवाग्राहीको गुनासो पनि यही हुन्छ । तर, सार्वजनिक ओहदामा रहेका वडाध्यक्ष शेषको शैली र प्रस्तुतिकरण भने गैरराजनीतिक र गैरजिम्मेवारपूर्ण देखिन्थ्यो । उनले लगाएको आक्रोसपूर्ण गुनासो सही हुँदाहुँदै पनि उनले देखाएको व्यवहारलाई कर्मचारीले चित्त दुखाइ माने र तत्काल नगरको कामकाज प्रभावित पारे । उनीहरुले वडाध्यक्ष शेषलाई कारबाही नहुँदासम्म कार्यालयको कामकाज प्रभावित पार्ने अडान लिएका थिए । तर, यसलाई नगर प्रमुख प्रशान्त विष्टले मथ्थर पार्न सहजीकरण गरे । उनले प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्कासहित कर्मचारीसँग छलफल गरेका थिए । उक्त बैठकले कार्यालयमा आइ उभद्रो गर्ने वडाध्यक्षलाई आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले बताए । उक्त निर्णयपछि कामकाज प्रभावित पारेका कर्मचारीहरु पुनः कामका फर्किएका थिए ।

कर्तव्यनिष्ठ भएर काम गर्दा पनि कर्मचारीलाई दबाब दिने र विभिन्न आरोप लगाउने काम सह्य नभएको यहाँका कर्मचारीहरुको भनाइ छ । जनप्रतिनिधिले यसरी आवेगमा आएर सबै कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाह गर्दैनन् भनेर आक्षेप लगाउनभन्दा कुटनीतिक ढंगले कार्यपालिका बैठक वा मेयरसँग छलफल गरेको भए राम्रो हुने नगरमा आएको एक सेवाग्राहीले भने । उनले वडाध्यक्षले धैर्यता गुमाउनभन्दा शालीन र भद्र ढंगले जिम्मेवारी निवार्ह गर्नुपर्ने उनले सुझाव दिए ।  

यता वडाअध्यक्ष शेषले भने कर्मचारीले काम गर्न आनाकानी गरेको र कार्यालय समयमा कर्मचारी नभेटिने भएपछि आक्रोसित भएको बताएका छन् । ‘पटकपटक कार्यालयमा जाँदा कर्मचारी भेटिँदैनन् । योजनाका लागि इन्जिनियरले अहिलेसम्म हस्ताक्षर गरेका छैनन्,’ उनले भने, ‘उनको हस्ताक्षर नहुँदासम्म काम अगाडि बढ्दैन । भेट्न कार्यालयमा पुग्दा कहिले कहाँ त कहिले कहाँ हुने । भेटै नहुने । यस्तो हिसाबले कसरी काम हुन्छ ।’ ‘कर्मचारी र जनप्रतिनिधिले गर्ने काम जनताकै होइन,’ उनले प्रश्न गर्दै भने, ‘अहिले काम नगर्ने हो भने समयमै योजना पूरा हुँदैनन् । पूरा नभए वडामा आएको बजेट फिर्ता जान्छ । यसको जिम्मेवारी को ?’ कर्मचारीकै कारण समयमै काम नहुने र बजेट पनि खर्च हुन नसक्ने अवस्था आयोभन्दा मलाई सजाय हुन्छ भने आफू भोग्न तयार रहेको उनको भनाइ छ । कर्मचारीहरुले आफूप्रति लागेको आरोप खण्डन गर्नुको साटो कर्मचारी-जनप्रतिनिधिबीचको सम्बन्धमा दरार आउने गरी कारबाहीका लागि सिफारिस गर्नु पर्ने अवस्था पनि हतारको हुने स्थानीयको भनाइ छ ।

मंगलबार करिब दुई घण्टा जति कामकाज प्रभावित भयो र बुधबार दिनभरि कामकाज प्रभावित हुने कर्मचारीहरुले बताएका छन् । जनप्रतिनिधि र कर्मचारीको मनमुटावका कारण सेवाग्राहीको कामकाजमा असहजता आएको छ ।

Exit mobile version