नेदरल्यान्ड्ससँग नेपालको २ रनको हार

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाल २ रनले पराजित भएको छ। सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भयो। मंगलबार भएको पहिलो खेलमा नेपालले नामिबियासँग २० रनले पराजित भएको थियो। अब नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रन मात्र जोड्न सक्यो। 
नेपाललाई अन्तिम दुई ओभरमा ३० रन चाहिएको थियो। जसमा १९ औं ओभरमा १५ रन  जोडेको थियो। यो ओभरमा दीपेन्द्रसिंह ऐरीले  र करण केसीले एक-एक छक्का समेत प्रहार गरे। 
२०औं ओभरमा १५ रन चाहिएको बेला पहिलो बलमा ऐरीले नेदरल्यान्ड्सका भान डर मर्वीलाई चौका प्रहार गरे। दोस्रो बलमा ऐरीले छक्का हिर्काए। तेस्रो बलमा दुई रन लिने कोशिस गर्दा करण केसी ११ रनमा रनआउटको सिकार भए। जसका कारण नेपाललाई तीन बलमा चार रन चाहिएको थियो। तर चौथो बलमा दिपेन्द्र बोल्ड हुन पुगे। उनले ३४ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ६३ रन जोडे। 
अन्तिम दुई बलमा चार रन चाहिदा प्रतिश जिसीले रन लिन सकेनन्। अन्तिम बलमा जिसीले एक रन मात्र लिन सक्दा नेपाल पराजित हुन बाध्य भयो।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ६ चौका र २ छक्का प्रहार गरे। रोहितको यो छैटौं टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो। अर्धशतक प्रार गरे लगत्तै रोहित आउट भए। कुशल मल्ल ११ रन र सन्दीप जोरा ८ रनमै आउट हुँदा सोमपाल कामीले खाता नै खोल्न सकेनन्।

Exit mobile version