नेपालगन्जमा वडाध्यक्षकै काममा ढिलासुस्ती हुन्छ भने सेवाग्राहीको काम के होला ?

?

मंगलबार ५ नम्बर वडाका वडाध्यक्ष सराफत हुसैन शेष आक्रोसित हुनुको प्रमुख कारण थियो, ‘कर्मचारीको समयमै वडाको कामकाज नगरिदिनु ।’ चालु आर्थिक वर्षका तयार भएका योजनाहरुमा इन्जिनियरलाई पटकपटक ताकेता गर्दा पनि ति फाइल अगाडि बढेनन् । समयमै योजनाको काम अगाडि नबढाए विनियोजित बजेट फ्रिज जान सक्ने भएकाले उनी वडाका सबै योजना अगाडि बढाउन चाहन्थ्ये तर, नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारी बाधक बनिदिए । अर्थात्, समयमै योजनाका हस्ताक्षर नगरि काममा ढिला गरिदिए । सोही रीसलाई उनले आवेगमा आएर नगरभित्र उभद्रो मच्चाए । उनको शैली शालीन र भद्र नभए पनि उनको उक्त विरोधात्मक मागले भने एउटा प्रश्न खडा गरेको छ ।

नगरका कर्मचारीले नगर विकासका लागि वडाध्यक्षले गर्न थालेकै काममा गैरजिम्मेवारीपूर्ण तरिकाले ढिलासुस्ती गर्छन् भने सामान्य सेवाग्राहीको कामकाजको अवस्था कस्तो होला ? यो प्रश्नले नगरका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमुरुद्दीन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्कासँगै यहाँका कर्मचारीको कार्य गराइको अवस्थालाई सतहमा ल्याइदिएको छ ।

वडाध्यक्ष शेषले अराजक शैलीमा गरेको गतिविधि न्यायोचित त छैन तर, पनि उनले जुन आक्रोसित भएर गरेका गुनासा गरेका छन् ति गुनासा आम सेवाग्राहीका हुन् । यहाँ आउने सेवाग्राहीले यो प्रश्न बेलाबेला गर्छन् । यसलाई सतहमा ल्याउने काम भने वडाध्यक्ष शेषले गरे ।

नगर प्रमुख विष्ट, उपप्रमुख राई र प्रमुख प्रशासकीय अधिकृत खड्काले आफू नेतृत्वको पालिकामा कसरी जनताको कामकाज सहज ढंगले सेवा प्रवाह गर्ने र यस्ता गुनासाका आवाजलाई मथ्थर पार्ने यसलाई ख्याल गर्न जरुरी छ । आगामी दिनमा यस्ता गुनासा नआउने गरी कार्य सम्पादनका कामकाज भए वडाध्यक्ष शेषलाई आफैँ कारबाही भएको महसुस हुनेछ ।

Exit mobile version