देशमा आजः राष्ट्रियसभाको अध्यक्षमा को ? (८ बजे ८ खबर)

1.         भ्रष्टाचारका करिब दर्जन कसुरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको थुनामा रहेका सेक्युरिटी प्रिन्टिङ सेन्टरका पूर्वकार्यकारी निर्देशक विकल पौडेल र मुख्य सचिव वैकुण्ठ अर्यालबीच ‘संदिग्ध आर्थिक लेनदेन’ भएको पाइएको छ । अर्याल सञ्चार मन्त्रालयको सचिव हुँदा सेक्युरिटी प्रिन्टिङमा पुनः नियुक्तिको दौडधुपमा रहेका पौडेलले तेस्रो व्यक्तिमार्फत रकम दिएको प्रमाण भेटिएको छ ।

2.         राष्ट्रियसभाको अध्यक्षमा आफ्नै उमेदवार उठाउने नेकपा (माओवादी केन्द्र)को निर्णयले राजनीतिक तरंग पैदा गरेको छ । बुधबार माओवादी केन्द्रले स्थायी कमिटी बैठकबाट राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने निर्णय गरेपछि राजनीति तरंगित बनेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा अध्यक्ष बनाउने आश्वासन दिएपछि कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा उठेको विषय चुनावभर चर्चामा थियो ।

3.         यस वर्षको सुक्खा मौसममा डढेलो बढ्ने चेतावनी दिइएको छ । नेपालमा हरेक दुई/तीन वर्षको अन्तरालमा वनजंगलमा डढेलो धेरै लाग्ने र यस वर्ष हिउँदसँगै आगामी केही महिना पनि वर्षा कम हुने भएकाले डढेलो बढ्ने आकलन गरिएको हो ।

4.         दूधको भुक्तानी नपाएको भन्दै देशभरका किसानले आन्दोलन चर्काएका छन् । आज कैलाली, बर्दिया, नवलपरासी, मकवानपुरलगायतका किसानहरुले सडकमै दूध पोखेर तत्काल दूधको भुक्तानी पाउनु पर्ने माग राखेर आन्दोलन गरेका हुन् ।

5.         राजस्व छली गर्नेलाई करिब डेढ अर्ब बिगो दाबी गर्दै सरकारले मुद्दा दायर गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१को सात महिनामा राजस्व अनुसन्धान विभागले २५ वटा मुद्दा दायर गरेको छ । ती मुद्दामा ४५ प्रतिवादीबलाई एक अर्ब ६२ करोड रुपैयाँ बराबर बिगो दाबी गरेर मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभाग महानिर्देशक नवराज ढुंगानाले बताएका छन् । विभागले ४५ मुद्दा विदेशी विनियम अपचलनका ९७ करोड १८ लाख रुपैयाँ बिगो दाबी गरेको छ ।

6.         नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ । पूर्वक्याप्टेन कुलबहादुर लिम्बु नेतृत्वको सो समितिले आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संयुक्तरुपमा प्रतिवेदन बुझाएको हो ।

7.         औषधि व्यवस्था विभागले दुई कम्पनीका तीन वटा औषधि बिक्री वितरणमा रोक लगाएको छ । प्रयोगशाला परीक्षणका क्रममा न्यून गुणस्तरको पाइएपछि ती औषधि बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ । लोमस फार्मास्युटिकल्स प्रालिद्धारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल औषधिको ब्याच नम्बर एमटीएस ०१२३ मा खराबी देखिएको हो ।

8.         र, कुवेत पठाउने भनेर २०७३  सालमा श्रीलंका पुर्या्एर बन्धक बनाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मानव बेचबिखन गरेको आरोपमा पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वडा नम्बर ४ का ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मियालाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

Exit mobile version