क्याम्पस निर्माणमा श्रेष्ठ परिवारको एक करोड दान

क्याम्पसको भवन निर्माणका लागि एक परिवारले एक करोडभन्दा बढी आर्थिक सहयोग गरेको छ । गल्कोट बहुमुखी क्याम्पसको भवन निर्माणका लागि स्थानीय निर्मला श्रेष्ठको परिवारले स्वर्गीय पति बद्रीकुमार श्रेष्ठ र उनको जेठी श्रीमती बेगमकुमारी श्रेष्ठको स्मृतिमा उक्त सहयोग गरेका हुन् ।

निर्मला बद्री श्रेष्ठको कान्छी पत्नी र वेगम कुमारीकी आफ्नै बहिनी हुन् । सहयोग गर्नेमा छोरा–छोरी र नातिनातिना छन् । यो यज्ञमा एक करोड ११ हजार एक सय ११ रूपैयाँ दान गर्ने श्रेष्ठ परिवार पहिलो हुन् । अमेरिका रहेका दुई छोराहरू मदनकुमार श्रेष्ठ र पुष्पमान श्रेष्ठ तथा नेपाली सेनामा कार्यरत कर्णेल डा. विपीन श्रेष्ठ र दिलीपकुमार श्रेष्ठ, बन्दना, पुष्पमान, लक्ष्मी, प्रबन्धक सेनानी लक्ष्मी श्रेष्ठ, सुष्मा श्रेष्ठ, छोरीहरू शान्ति श्रेष्ठ, ज्योति श्रेष्ठ, मेडिना, नातिनीहरू माया, मारविन, विधान, पल्लवी, प्रकति, आरती, भार्गव, आरवी, एरिका, एरोन निशा, अनिशा, सुसेन, सुवन, मेलोनी, सहिल लगायत मिलेर एक करोडभन्दा बढी रूपैयाँ दान गर्न सफल भएका हुन् ।

उनीहरूले स्थानीय गल्कोट क्याम्पसमा थप गर्न लागिएको शैक्षिक कार्यक्रमका लागि भवन निर्माण गर्न यतिको ठूलो धनराशि सहयोग गरेको बताए । गल्कोट बहुमुखी क्याम्पसमा थप गर्न लागिएको स्नाकोत्तर तहमा एमबिए र अरू तहमा आइटी विषयका शैक्षिक कार्यक्रम तथा भवन निर्माणको लागि रकम सहयोग गरेको श्रेष्ठ परिवारले जनाएको छ ।

Exit mobile version