पुण्य गौतम र युवराज सफल पक्राउ

सामाजिक सञ्जाल फेसबुक र युट्युबमा उग्र अभिव्यक्ति दिँदै आएका पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा होलहल्ला, नाराबाजी र जुलुस गरेर सार्वजनिक शान्तिमा असर पुर्‍याएकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए । उनका अनुसार, अहिले दुवैजनालाई प्रहरी वृत्त, महाराजगञ्जमा राखिएको छ । उनीहरुले चितवनको रत्नगर नगरपालिका-१० स्थित शिशु निकेतन माविको छात्रावासमा मृत अवस्थामा भेटिएकी छात्रा १४ वर्षीया शालिन पोखरेलको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

स्काउटको डोरीले घाँटीमा झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव भेटिएको थियो । त्रिवि शिक्षण अस्पतालमा भएको फरेन्सिक जाँचको प्रतिवेदनमा उनको ‘झुण्डिएको कारण’ मृत्यु भएको उल्लेख छ । त्रिवि शिक्षण अस्पतालले जिल्ला प्रहरी कार्यालय, चितवनलाई प्रतिवेदन बुझाएको बताइएको छ ।

आफन्तले बलात्कारको आशंका गरेकाले पीडितको संवेदनशील अंगको पनि जाँच गरिएको थियो । तर, पोष्टमार्टम जाँचमा शंकास्पद विषय नदेखिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

Exit mobile version