कर्मचारीलाई अपमान गर्ने र वित्तीय संस्थाविरुद्ध भ्रम छर्नेलाई कारबाही गरिने

बर्दियामा पछिल्लो समय कर्मचारी र बैंकिङ तथा वित्तीय संस्थाहरुविरुद्ध भ्रम छर्ने कर्मचारीहरुलाई अपमान गर्ने प्रवृति बढ्दै गएपछि प्रशासनले यसतर्फ ध्यानाकर्षण भएको जनाएको छ । यस्ता अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याउन तथा जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम गर्ने प्रशासन प्रतिबद्ध रहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताएका छन् ।

‘हाल केही समयदेखि बर्दिया जिल्लामा कथित संघ संस्था वा अभियानको नाममा भ्रमपूर्ण/धम्किपूर्ण अभिव्यक्ति दिने, कानुनविपरीतका कार्य गर्ने/गराउने, नागरिक, राष्ट्रसेवक कर्मचारी तथा बैकिङ्ग तथा वित्तीय संस्थाविरुद्व भ्रम छर्ने र कर्मचारीहरुलाई अपमान गर्दै लुकीछिपी विभिन्न प्रकारका दुर्व्यवहार गर्ने प्रयत्न भइरहेकोतर्फ जिल्ला सुरक्षा समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ जिल्ला प्रशासन कार्यालय बर्दियाले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘उल्लेखित यस्ता अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याउन तथा जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम राख हामी प्रतिबद्ध छौं ।’

यस्ता कार्य भए तत्कालै जानकारी गराउन पनि प्रशासनले अपील गरेको छ ।

Exit mobile version