भेरी अस्पतालमा सुत्केरी र गर्भवतीलाई बेड पाउनै मुस्किल

भेरी अस्पतालको प्रसूति गृहमा दैनिक १० देखि १२ जना जटिलखालका गर्भवती आउँछन् । तिमध्ये ६ जनाले मात्र भेरी अस्पतालको बेड पाउँछन् । अरुलाई अन्यत्रै रिफर गर्नुपर्ने बाध्यता छ । पश्चिम नेपालको स्वास्थ्यको धरोहरका रुपमा परिचित यस अस्पतालमा आवश्यकताका आधारमा बेडहरु नहुँदा सुत्केरी तथा गर्भवती महिलाले सहजरुपमा सेवा पाउन सकेका छैनन् ।

भेरी अस्पतालमा जम्मा १२ वटा अप्रेसन बेड छन् । तिमध्ये गर्भवती महिलाका लागि ६ वटा मात्र बेड उपलब्ध गराइएको छ । जबकी भेरी अस्पतालमा गर्भवती महिलाका लागि मात्रै कम्तिमा पनि १५ वटा बेड आवश्यक पर्छ । भएका ६ वटा बेड पनि सहजै उपलब्ध हुँदैन । अन्य रोग वा दुर्घटनाका बिरामीलाई अप्रेसन गर्नु पर्दा मुस्किलले गर्भवती महिलाका लागि बेड उपलब्ध हुन्छ ।

प्रसूति गृहमा जाँदा त्यहाँ अस्तव्यस्त छ । कतिपय सुत्केरी महिलाहरु बेड अभावमा भुइँमै बस्न बाध्य छन् । ‘कुनै दिन सुत्केरी महिलाका लागि बेड नै हुँदैन,’ एक स्वास्थ्यकर्मीले भनिन्, ‘बेड पर्याप्त भएन भने सुत्केरी महिलालाई भुइँमै बसालेर भए पनि उपचार सेवा दिइरहेका छौं ।’ यस्तो गर्न यहाँका स्वास्थ्यकर्मीको रहर होइन बाध्यता हो । व्यवस्थापकीय कमजोरीका कारण भेरी अस्पतालले प्रसूति गृहमा बेड बढाउन सकेको छैन । जसको मार टाढाटाढामा आएका गर्भवती तथा सुत्केरी महिलाले खेप्नु परेको छ ।

भेरी अस्पतालमा भर्ना हुन आउने गर्भवतीका लागि १० वटा बेड छ । सुत्केरी हुँदाको अवस्थामा दुईवटा बेड छन् भने सुत्केरी भइसकेपछि बस्नलाई ३५ वटा बेड छन् । यो धेरै अपुग हो । सामान्य अवस्थामा त अस्पतालले भर्नानै लिँदैन । ‘सामान्य अवस्थामा हामी भर्ना लिँदैनौं,’ प्रसूति गृह इन्चार्ज शिला शर्माले भनिन्, ‘भर्ना भएका केहीलाई आज नभए भोलि अप्रेसन गर्नुपर्ने छ भने मात्र त्यस्तो अवस्थामा भर्ना लिन सक्छौं । नत्र भर्ना लिन मुस्किल छ ।’ पूरै पाठेघर नखुलेसम्म अस्पतालले भर्ना लिन समस्या भएको उनले बताइन् ।

पहिलाको तुलनामा अहिले भेरी अस्पतामा प्रसूतिका लागि आउने महिलाको संख्या घट्दो रहेको उनको भनाइ छ । ‘पहिलापहिला त दैनिक २२/२३ जना आउनुहुन्थ्यो,’ उनले भनिन्, ‘पछिल्लो समय भेरी अस्पतालमा बेड पाउँदैन भन्ने हल्लाले गर्दा धेरै गर्भवती महिला निजी अस्पतालमा जानु हुन्छ ।’ भेरी अस्पतालमा अन्य बिरामीहरुको संख्या बढ्दै जाँदा प्रसूति महिलाहरुका लागि बेड अभाव हुन थालेको बताइएको छ । यहाँ मासिक करिब पाँच सय जना जति महिलाले सेवा लिइरहेका छन् । प्रसूति गृहकी इन्चार्ज शर्माका अनुसार गत आर्थिक वर्षमा पाँच हजार पाँच सयजनाले सेवा प्राप्त गरेका छन् ।

भेरीमा राम्रो हेरचाह हुन्छ भनेर आउने र यहाँ आएर बेड अभाव हुनु दुःखद् रहेको यहाँ भेटिएका नारायण खत्रीले बताए । ‘ठूलो विश्वास र भरका साथ भेरी अस्पतालमा आउँछौं,’ उनले भने, ‘तर, यहाँ आउँदा बेड नपाइ निजी अस्पतालमा महँगोमा उपचार लिनुपर्ने बाध्यता छ ।’ ‘घर लैजाने हो भने कतिखेर बेथाले च्याप्ने हो पत्तो छैन । यहाँ राख्ने हो भने थप समस्या निम्तिने खतरा छ,’ यहाँ आउने गर्भवती महिलाका आफन्त भन्छन्, ‘कडा बेथा नलागेकाले भर्ना गर्न मिल्दैन भनेर बाहिर राखेका छन् । हामी त यता न उताका भयौँ । बाध्य भएर चिसो भुइँमै बसेका छौं ।’

बिरामीका चाप बढ्दै जाँदा यसलाई थप व्यवस्थित गर्न थालिएको भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्ट धितालले बताए । ‘अहिले बेड अभाव छ । आउने जतिलाई सेवा दिन सकेका छैनौं,’ उनले भने, ‘यसका लागि थप ६ वटाजति बेड बढाउने छलफल भएको छ । यसलाई निष्कर्षमा पुर्‍याउँछौं ।’ सामान्यभन्दा जटिलखालका सुत्केरी महिलाहरुका लागि बेड समस्या रहेको उनको भनाइ छ । ‘सामान्य अवस्थाका लागि समस्या धेरै छैन,’ उनले भने, ‘अप्रेसन गरेर सुत्केरीलाई राख्ने ठाउँ अभाव छ ।’

भेरी अस्पतालमा बेड नहुँदा यहाँ आउने सुत्केरी महिला निजीमा गएर महँगोमा उपचार गर्न बाध्य छन् । तत्काल शल्यक्रिया नै गर्नुपर्ने जटिलखालको भए जता जसरी पनि मिलाउने कोसिस गर्ने गरेको यहाँका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

Exit mobile version