बाँकेबाट सूर्य ढकाल होलान त मन्त्री ?, ढकालको सम्भावना कति ?

पछिल्लो प्रतिनिधिसभाको निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस र नेकपा माओवादीसहित दलहरुको बलियो गठबन्धन थियो । नेकपा एमाले एक्लै चुनावी मैदानमा थियो । यस निर्वाचन क्षेत्रमा एमालेबाट उम्मेदवार थिए, ‘सूर्य ढकाल ।’

अंक गणितमा बलियो रहेको गठबन्धनबाट बहालवाला युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज उम्मेदवार थिए । उनीसँग चुनावी मैदानमा भिड्न सहज नभए पनि सूर्य ढकालले स्पष्ट विकासे घोषणा लिएर जनतामाझ गए र अंक गणितमा बलियो देखिएको गठबन्धनका उम्मेदवार गहतराजलाई पराजित गरिदिए । उनले २५ हजार २६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गहतराजले १९ हजार ६ सय ३२ मत ल्याए ।

यो जित एमालेका लागि बाँके निर्वाचन क्षेत्र नम्बर १ मा मात्र सीमित भएन । साविक कर्णाली र भेरी अञ्चलबाट निर्वाचित हुने उनी एक्ला उम्मेदवार बने । पछिल्लो राजनीतिक विकसित घटना क्रमअनुसार सत्ता गठबन्धन फेरिएपछि उनै ढकाल के मन्त्री बन्लान् ? बाँकेमा बहस र चर्चाको विषय बनेको छ । साविक कर्णाली र भेरी अञ्चलबाट एक्ला निर्वाचित सांसद भएका र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुँदा उनै ढकालले बलियो काँध थापेर बाँकेमा एमालेलाई एक ढिक्का बनाउन नेतृत्व लिए । ‘धेरै आधारमा ढकाल अबको मन्त्रिमण्डलका लागि दाबेदार हुन्,’ उनी निकट भन्छन्, ‘यसले पार्टीमा ज्यानै दिएर लाग्नेहरुलाई जनताले अनुमोदन पनि गरिसकेपछि सरकारमा पुग्ने स्वभाविक अवसर प्राप्त हुन सक्छ भन्ने सन्देश जान्छ ।’

तर, ढकाल आफैँ भने मन्त्री बन्ने कुरामा ढुक्क देखिँदैनन् । ‘म मन्त्रिपरिषद्मा जान योग्य र स्वभाविक दाबेदार छुँ,’ सांसद ढकालले दैनिक नेपालगन्जको जिज्ञासामा भने, ‘तर, सबै कुरा पार्टीको निर्णय र पद्दतिमा निर्भर हुन्छ ।’

उनकै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका गहतराज अघिल्लो सरकारमा मन्त्री बनेका थिए । त्यस्तै बाँके क्षेत्र नम्बर २ बाट निर्वाचत तत्कालीन सांसद मो. ईश्तियाक राई पटकपटक मन्त्री बने । यसपटक ढकालले पनि त्यो अवसर पाउलान त ?

Exit mobile version