किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या समाधान भएको छ । गएराति ९ देखि १० बजेसम्म एक्कासि अकाउन्ट लगआउट र सेसन एक्स्पायरलगायतको समस्या देखिएको थियो ।

नेपाल र भारतलगायत विश्वका धेरै देशमा फेसबुक र इन्स्टाग्रामका एप र वेबसाइटहरू झण्डै एक घण्टा डाउन भएका थिए । मेटाका फेसबुक र इन्स्टाग्राम एप नचल्ने समस्या नेपालमा मात्र नभइ विश्वभर देखिएको प्रयोगकर्ताले ट्विटरलगायतका अन्य सामाजिक सञ्जालमा गुनासो गरेका थिए ।

सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले यस्तो गुनासो गरे । प्रयोगकर्ताका अनुसार फेसबुक र इन्स्टाग्राम अकाउन्ट अचानक लगआउट भयो, त्यसपछि लग इन गर्ने प्रयास गर्दा त्यो सफल हुन सकेन । यस विषयमा मेटा कम्पनीले फेसबुकको मुख्यालयमै आएको प्राविधिक समस्याका कारण यस्तो भएको जनाएको छ । समस्या आएको केही समयपछि नै मेटाका प्रवक्ता एन्डी स्टोनले सामाजिक सञ्जाल एक्समार्फत् कम्पनीमा प्राविधिक समस्या आएको र समस्या समाधानका लागि प्रयास भइरहेको जानकारी दिएका थिए ।

मेटाको सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम अहिले चल्न थालिसकेको छ । केही समय फेसबुक बन्द हुँदा धेरैले ह्याकरले आक्रमण गरेको हुनसक्ने सम्मको अनुमान गरेका थिए । यसैबीच सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले सामाजिक सञ्जाल वेबसाइट फेसबुक र इन्स्टाग्राम डाउन भएको भन्दै आलोचना गरेका थिए ।

Exit mobile version