माओवादीद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्री केसी र मास्की बर्खास्त

लुम्बिनीका मुख्यमन्त्रीले माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । केन्द्रमा सत्तागठबन्धन फेरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

बुधबार माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की र शहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका हुन् ।

अब प्रदेश सरकारमा नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका मन्त्री छन् ।

लुम्बिनी प्रदेश सभामा ८७ जना सांसदमध्ये एमालेका २९, नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका चार–चार, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका तीन–तीन तथा नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । अहिले नयाँ गठबन्धनमा एमाले, माओवादी र जसपा मात्रै रहेकाले लुम्बिनी प्रदेशमा सरकार गठनका लागि स्पष्ट बहुमत पुग्ने अवस्था छैन । जसले गर्दा अन्य साना दललाई समेट्नुपर्ने अवस्था देखिन्छ ।

Exit mobile version