धितालका पुस्तकमाथि नेपालगन्जमा संवाद

जनयुद्धकालीन संस्मरणका आधा दर्जनबढी पुस्तकमाथि नेपालगन्जमा बुधवार संवाद गरिएको छ । तत्कालिन युद्धपत्रकार मनऋषि धितालका गुफा प्रेसका चिठी, जेलयात्रा, बेनीयात्रा, आधारयात्रा, राजमार्ग यात्रा र गण्डक यात्रा पुस्तकमाथि नेपालगन्जमा संवाद गरिएको हो ।

जनयुद्धकालीन डायरीमा समावेश संस्मरणात्मक पुस्तकहरु पत्रकार धितालले एकसाथ गतसाता सार्वजनिक गरेका थिए । लेखक धितालले आफू केवल जनयुद्धका अनुभूति बाँड्ने हुलाकी भएको धारणा राख्दै पुस्तकहरू कल्पना नगरी वास्तविक रूपले तथ्यका आधारमा लेखिएको बताए । ‘पुस्तकका पात्रहरूसँग पुनर्मिलन समेत गरेको छु,’ धितालले भने ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा विश्लेषक नरेन्द्रजङ्ग पिटरले गण्डक यात्रा, साहित्यकार लेख प्याकुरेलले राजमार्ग यात्रा, पत्रकार तुला अधिकारीले जेलयात्रा, राजनीतिकर्मी दुर्गाबहादुर चौधरीले पिलीयात्रा, साहित्यकार शशिराम कार्कीले गुफा प्रेसका चिठी, साहित्यकार खोपीराम ओलीले बेनीयात्रा, पत्रकार शंकर खनालले आधारयात्रा पुस्तकमाथि टिप्पणी गरे ।

पुस्तक पढ्दा आफूलाई विगत सम्झना भएको र लेख्नका लागि प्रोत्साहन मिलेको धारणा राख्दै थारुले हरेक लडाकुले युद्धका उपन्यास लेख्न सक्ने बताए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य महेश्वरजङ्ग गहतराज ‘अथक’, वरिष्ठ पत्रकार जे पाण्डे, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य कार्की, माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’, नेकपाका पोलिटब्युरो सदस्य बन्धु ‘सी’ लगायतले पुस्तकमाथि चर्चा गरेका थिए । कार्यक्रमको आयोजना प्रेस सेन्टर लुम्बिनीले गरेको हो ।

Exit mobile version