देशमा आजः ८ बजे ८ खबर

  1. आगामी चैतमा समेत निक्षेपको ब्याजदर घट्न सक्ने सम्भावना रहेको बैंकरहरूले बताएका छन् । बैंकहरूमा पर्याप्त तरलता रहेकोले चैतमा थप ब्याजदर घट्ने सम्भावना रहेको उनीहरूले बताएका हुन् । वाणिज्य बैंकहरूले फागुनमा अधिकतम ब्याजदर ८.५ प्रतिशत तोकेका थिए । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङका अनुसार अहिले बैंकहरूको पुँजी लागत सरदर ७ प्रतिशत हाराहारी छ ।
  2. नेपालले प्राप्त गर्ने अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता ५६.३ प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा उक्त सहायता प्रतिबद्धता घटेको हो । २०८० साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा नेपालले मात्र ५९ अर्ब ९८ करोड रुपैयाँको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा नेपालले एक खर्ब ३७ अर्ब १२ करोड रुपैयाँको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त गरेको थियो । 
  3. निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरीलाई अस्वीकार गरेको छ । रेशम चौधरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा सर्वोच्च अदालतबाट दोषी ठहर भई सजाय भोगेकाले ‘नैतिक पतन’ भएका व्यक्तिलाई कुनै दलको सदस्यता दिन नहुनेलगायतका चार कारण देखाउँदै निर्वाचनले अध्यक्षमा अस्वीकार गरेको हो ।
  4. नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन् । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट गरेका छन् ।
  5. वीरगंजका मेयर राजेशमान सिंहसहित तीनजनाविरुद्ध सरकारी कागजात किर्ते गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्साले फैजदारी अभियोगमा जाहेरी दर्ता गरेको छ । झुटा विवरण पेश गरी एक किशोरीलाई वंशजको नागरिकता दिलाएको आरोपमा उनीविरूद्ध परेको जाहेरी प्रहरीले बिहीबार दर्ता गरेको हो ।
  6. नेपाल प्रहरीले महाशिवरात्रि पर्वका लागि सुरक्षा योजना सार्वजनिक गरेको छ । भोलि पशुपतिनाथ मन्दिर परिसरमा मेला लाग्ने र मेलामा स्वदेशी तथा विदेशी भक्तजनहरूको भिड हुने भएकाले सुरक्षा योजना लागू गरिएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । सुरक्षा योजना फागुन २६ गतेसम्म लागू हुनेछ ।
  7. दैलेखको पञ्चकोशी क्षेत्रमा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’ का लागि चीनबाट ल्याइएका मेसिनहरु नेपाल-भारत सीमा क्षेत्र रुपैडियामा रोकिएका छन् । अर्थ मन्त्रालयले भन्सार छुटका लागि गर्नुपर्ने आवश्यक निर्णय नगरिदिँदा भारतको कोलकाता बन्दरगाह हुँदै नेपाल ल्याउन लागिएका ती मेसिन रुपैडिया नाकामा अड्किएका हुन् ।
  8. र, शेयर बजार दोहोरो अङ्कले बढेको छ । बिहीबार शेयर बजार परिसूचक नेप्से १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ३० दशमलव ५५ बिन्दुमा पुगेको छ । होटेल तथा पर्यटन, व्यापार र म्यूचुअल फण्डबाहेक सबै समूहको शेयर बढ्दा जलविद्युत् र निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ ।
Exit mobile version