देशमा आजः ८ बजे ८ खबर

फोहोर पोखरी ।

  1. बजेटको सम्बन्धमा देखिएको ‘डुप्लिकेसन’ हटाउन ५–१० करोड रुपैयाँसम्मको आयोजनाको सिलिङ तयार गर्ने जिम्मेवारी स्थानीय तह अथवा पालिकालाई दिनुपर्ने सुझाव राष्ट्रियसभाले दिएको छ । राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिले बजेटमा देखिने डुप्लिकेसन अन्त्य गर्न सुझाएको हो । सातवटै प्रदेशमा पुगेर तीन तहका सरकारबीच अन्तरसम्बन्ध र समन्वयबारे समितिले अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो ।
  2. राष्ट्रियसभाको रिक्त अध्यक्ष पदको निर्वाचन यही फागुन २९ गते गर्ने तयारी भएको छ । फागुन २७ गते बस्ने राष्ट्रियसभा बैठकबाट मिति घोषणा हुने संघीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
  3. नेकपा (एमाले) ले वैशाख ८ र ९ गते बस्ने गरी महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको २९ औं सचिवालय बैठकले पार्टी स्थापना दिवसको पूर्वसन्ध्यामा महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको हो । त्यस्तै एमालेले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मकरूपमा लिएको छ ।
  4. पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको अर्जुनखोला पुलमा चार वटा सवारी साधन एकैपटक दुर्घटनामा पर्दा ७ जना घाइते भएका छन् । एकै स्थानमा स्कार्पियो जिप, अटो रिक्सा, मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका हुन् ।
  5. चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा ६० करोड रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागका अनुसार सात महिनामा ६० करोड ६१ लाख ८५ हजार रुपैयाँको एक हजार २४६ किलोग्राम यार्सागुम्बा निर्यात भएको हो ।
  6. नेपाली सेनाले महाशिवरात्रि तथा स्थापनाको २६१औँ वार्षिकोत्सव मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहबीच स्थापना दिवस आयोजना भएको हो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झन्डालगायत महाशिवरात्रि तथा सेना दिवसको ब्यानर प्रदर्शनसहित पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा राइफल र तोपबाट बढाइ गरिनुका साथै विविध सैनिक कला र सांस्कृतिक एवम् सांगीतिक प्रस्तुति गरिएको थियो ।
  7. दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको बेला अज्ञात समूहले आक्रमण गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अधिकारी सुतिरहेको अवस्थामा शक्रबार राति अज्ञात समूहले ढुंगामुढा र आगजनी गरेका हुन् । 
  8. रुपन्देहीमा प्रहरीले अवैध चिनी  बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नं. २७ गण हे.क्वा. रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाको कमान्डमा खटिएको टोलीले शुक्रबार मायादेवी गाउँपालिका–५ स्थित बुडवाबाट २५० बोरा (१२ हजार ५ सय केजी) चिनी बरामद गरेको हो ।
Exit mobile version