कोहलपुरमा आख्यान महोत्सव

बाँकेको कोहलपुरमा स्थापित सबैभन्दा पुरानो साहित्यिक पुरस्कार ‘तुल्सीराम स्मृति पुरस्कार’ यसबर्ष नेपालगन्जकी युवा साहित्यकार ऋचा लुइटेललाई प्रदान गरिएको छ ।

शनिबार कोहलपुरमा आयोजित पुरस्कार अर्पण कार्यक्रममा ७ हजार ७ सय ७७ रूपैयाँ नगद सहितको उक्त पुरस्कार लुइटेललाई प्रदान गरिएको हो । २०६२ सालमा पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले तुल्सीराम ढकालको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार यसअघि दर्जन बढी विशिष्ट साहित्यिक व्यक्तित्वहरूलाई प्रदान गरिसकिएको छ ।

पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा पूर्णिमा साहित्य रत्न २०८० बाट प्राध्यापक डा. रामप्रसाद ज्ञवालीलाई सम्मानित गरियो । कार्यक्रमका प्रमुख अतिथि, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले पुरस्कृत व्यक्तित्व डा. ज्ञवाली र लुइँटेललाई पुरस्कार तथा कदर पत्र प्रदान गरेका हुन् । प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानको अध्यक्षतामा भएको कार्यक्रममा मदन पुरस्कार विजेता कृतिका लेखक अमर न्यौपाने, वरिष्ठ पत्रकार कृष्णराज सर्वाहारी, प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, प्राज्ञ सभा सदस्य महानन्द ढकाल, पूर्व मन्त्री गोपाल दहित, कोहलपुरका नगर प्रमुख पूर्ण प्रसाद आचार्य लगायतले बोलेका थिए ।

शनिबार नै कोहलपुरमा नेपाल प्रज्ञा प्रतिष्ठानले लुम्बिनी प्रदेशस्तरीय एकदिन आख्यान महोत्सव आयोजना गर्यो । महोत्सवमा विभिन्न चरणका संवाद र संयोजनमा आख्यान चर्चा गरिए । प्रतिष्ठानका कुलपति भुपाल राईले प्रज्ञा प्रतिष्ठान कथा खोज्दै गाउँ पसेको धारणा व्यक्त गर्दै गाउँका अनेकौं कथा लेखिन बाँकी नै रहेको बताए ।

कार्यक्रमका अर्का वक्ता प्राध्यापक डा. रामप्रसाद ज्ञवालीले आफुले कस्तो लेखिरहेको छु भन्ने कुरामा स्रष्टा सचेत भएर आत्म समीक्षा गर्न सुझाए । प्रतिष्ठानका आख्यान विभाग प्रमुख अमर न्यौपानेले कोहलपुरलाई ‘सहरले खाएको गाउँ’का रूपमा प्रयोग गर्दै थुप्रै कथा लेख्न बाँकी नै रहेको धारणा राखे ।

विभिन्न सत्रमा चलेको कार्यक्रममा टिकाराम उदासीले लुम्बिनी प्रदेशको साहित्य अवस्थाबारे प्रकाश पारेका थिए । ‘बसाईसराई र समाज परिवर्तनको कथा’ बारे थारु भाषाका अध्येता, पूर्व मन्त्री डा. गोपाल दहित र कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यसँगको ‘प्यानल डिस्कसन’ कृष्णराज सर्वहारीले सहजीकरण गरे ।

Exit mobile version