थप दुई हजार ६ सय ७४ सहिदमा सूचीकृत

सरकारले थप दुई हजार छ सय ७४ जना सहिदको नाम सूचीकृत गरेको छ । गृह मन्त्रालयले ती सहिदको नामावली राजपत्रमा प्रकाशितसमेत गरेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई सम्मानस्वरुप गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।

उक्त नामावली भने गृह मन्त्रालयले बिहीबारमात्रै राजपत्रमा प्रकाशित गरेको हो । अघिल्लो वर्ष फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा सहिद घोषणा भएका आठ हजार चार सय ६७ जनाको नामावली पनि राजपत्रमा प्रकाशित गरेको थियो । सहिद परिवारलाई राज्यले रु १० लाख सहयोग उपलब्ध गराउँदै आएको छ ।

Exit mobile version