स्ट्रेन्थलिफ्टिङका विजेतालाई सम्मान

भारतको हैदराबादमा भएको १० औँ वल्र्ड स्ट्रेन्थलिफ्टिङ विश्व च्याम्पियनसिपमा पदक विजेतालाई शनिवार स्वागत सम्मान गरिएको छ । स्ट्रेन्थलिफ्टिङमा स्वर्ण पदक विजेता दन्तरोग विशेषज्ञ डा. प्रतिक श्रेष्ठसहितका विजेता खेलाडीहरूलाई नेपालगन्जमा सम्मानित गरिएको हो ।


प्रतियोगितामा स्वर्ण पदक विजेता डा. श्रेष्ठ र रजत पदक हासिल गर्न सफल र सन्तोषकाजी शाक्यसहितका सहभागी खेलाडीलाई बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ संघ, लाइफलाइन अस्पताल र गणपति डेन्टलले सम्मान गरेको हो ।


कार्यक्रममका प्रमुख अतिथि, हक्कीका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका लाइफलाइन अस्पतालका सञ्चालन अशोक श्रेष्ठले सम्मान प्रदान गरे । उनले १० औँ वल्र्ड स्ट्रेन्थलिफ्टिङ विश्व च्याम्पियनसिपमा पदक विजेतालाई सधैका लागि लाइफलाइन अस्पतालमा निःशुल्क उपचार व्यवस्थाको घोषणा पनि गरे । अस्पतालका प्रमुख डा.पारस श्रेष्ठले विजेता खेलाडीप्रति उच्च सम्मान व्यक्त गर्दै देशको सान भएको औल्याए ।


१८ देखि २२ डिसेम्बर, २०२३ सम्म भारतको हैदराबादमा भएको प्रतियोगितामा नेपालगन्जका डा. श्रेष्ठले ९५ किलो तौल पुरुष सिनियरतर्फको प्रतिस्पर्धामा स्वर्ण पदक र शाक्यले ७६ किलो तौल पुरुष मास्टर वानतर्फको प्रतिस्पर्धामा रजत पदक हासिल गरेका हुन् ।


प्रतियोगितामा नेपालका ४५ जना खेलाडीले सहभागिता जनाएकोमा १६ स्वर्ण, १४ रजत र चार कांस्य पदक जितेका छन् । प्रतियोगितामा पदकका हिसाबले नेपाल दोस्रो भएको शनिवारनै बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ संघले आयोजना गरेको पत्रकार सम्मेलनमा जनाइएको छ ।

Exit mobile version