जलवायु परिवर्तनले खेती प्रभावित

जलवायु परिवर्तनले उत्पादन र त्यसको गुणमा समेत भिन्नता आउने महसुस गरेको किसानहरू बताउँछन् । जलवायु परिवर्तनका कारण समयमा समयानुकुल मौसमी गतिविधि नहुँदा त्यसको प्रभाव खेतीपातीमा पर्ने गरेको हो । सरकारले कृषि गणनाका क्रममा जलवायु परिवर्तन बारे तथा त्यसको असरबारे तथ्यांक संकलन गरेको छ । सरकारी तथ्यांक अनुसार, कतिपय किसानले जलवायु परिवर्तनले कृषिमा परेको असर बारे थाहा भएको तथा कतिपय थाहा नभएको बताएका छन् । अधिकांस कृषकले जलवायु परिवर्तनले नकारात्मक असर पारेको र केहीले सकारात्मक प्रभाव पारेको कृषि गणनाका क्रममा बताएका हुन् ।

नेपालको कृषि क्षेत्र र कृषक समुदायलाई जलवायु परिवर्तनका प्रभावहरू केही सकरात्मक र धेरै नकरात्मक गरि दुबै हुन सक्छन् । यी प्रभावहरूलाई विशेष गरि तापक्रममा आउने परिवर्तन, बर्षा अर्थात् पानी पर्ने मात्रा, समय, तीब्रतामा आउने परिवर्तन, र हावाको गतिको परिवर्तनका साथै एक आपसको अन्तरक्रिया एवं अन्तरसम्बन्धबाट सृजित असरहरूलाई जोडेर हेर्ने गरिन्छ ।

बैज्ञानिकहरूको अनुसन्धान र कृषक समुदायहरूको अनुभवलाई आधार मान्दा जलवायु परिवर्तनले खास गरि औसत तापक्रममा बृद्धि भएको, पानी पर्ने समय, अवधि र मात्रामा उतारचढाव आएको, खडेरी लम्बिएको, बाढी पहिरोको खतरा बढेको, हावाहुरीको गति बृद्धि भएको जस्ता प्रमुख सूचकहरू देखा परेका छन् ।

नेपालको परिप्रेक्ष्यमा पानी खेतीपातीको लागि एक महत्वपूर्ण स्रोत भएको र जसको लागि आकासे पानीमा नै बढी मात्रामा निर्भर रहनु पर्ने भएकोले पानीचक्र सँग सम्बन्धित उतारचढावले कृषि उत्पादनमा चुनौती थपिएको छ ।

विशेष गरि नेपालको कृषि प्रणाली आकासे पानीको निर्भर रहने, कृषकहरूको जलवायु परिवर्तन अनुकुलन सम्बन्धि ज्ञान, सीप र प्रविधिको पहुँचको कमी भएको, कृषि विकास र जलवायु अनुकुलनका कार्यक्रमहरू आर्थिक र प्राविधिक स्रोतको सीमाबद्धता, राष्ट्रिय र स्थानीय तहमा सुशासन र सहकार्यका चुनौतीहरूले गर्दा नेपालको कृषि क्षेत्र अति नै संकटासन्न अवस्थामा छ ।

नेपालमा जलवायु मैत्री कृषिको प्रबद्र्धनका लागि स्थानीय अनुकुलन कार्ययोजना र स्थानीय विकासको कार्यक्रममा जलवायु मैत्री कृषि पद्धतिको एकीकरण गरि यसको नियमित अनुगमन र मुल्यांकन हुनु जरुरी रहेको व्यवसायिक कृषि खेती गर्नेहरूले बताउँदै आएका छन् ।

राष्ट्रिय कृषि गणना २०७८ को सार्वजनिक तथ्यांक अनुसार, बाँकेमा जम्मा कृषक परिवार संख्या ६७ हजार ८ सय ८५ रहेकोमा जलवायु परिवर्तन बारे २९ हजार १ सय ६५ परिवारले अनभिज्ञता प्रकट गरेका छन् ।

बाँकेमा कृषि कार्यमा जलवायु परिवर्तन पुर्याएको प्रभाव उल्लेख गर्ने कृषकको संख्या परिवारको संख्या २५ हजार ९ सय १५ रहेको कृषि गणनाको तथ्यांकमा उल्लेख छ ।

बाँकेका जलवायु परिवर्तनबारे जानकार रहेको बताउने किसानहरू मध्ये त्यसको नाकारात्मक तथा सकारात्मक दुवै प्रभावबारे बताएका छन् । उनीहरूले जलवायु परिवर्तनले उत्पादनमा कमी तथा वृद्धि दुवै उल्लेख गरेका छन् । जलवायु परिवर्तनले उत्पादनमा कमी आएको बताउने कृषक परिवारको संख्या बाँकेमा निकै बढी रहेको तथ्यांकले देखाएको छ । २१ हजार १ सय ४२ परिवारले जलवायु परिवर्तनले उत्पादनमा कमी आएको बताएका छन् भने उत्पादनमा वृद्धि भएको ४ हजार ८ सय ४ किसान परिवारले उल्लेख गरेका छन् ।

बाँकेमा जलवायु परिवर्तनबारे थाहा भएको बताउने कृषक परिवारहरूले जलवायु परिवर्तनले फल÷फसलको आकारमा परिवर्तन आएको बताउने कृषक परिवारको संख्या ७ हजार ३ सय ७७, स्वादमा परिवर्तन आएको बताउने कृषक परिवारको संख्या ८ हजार २ सय ८६, बाली लगाउने समयमा फरक भएको बताउने कृषक परिवारको संख्या ९ हजार ४ सय ७४, धेरै वा कम बर्षा भएको बताउने कृषक परिवारको संख्या १३ हजार ५ सय ३७, रोग÷किराको प्रकोकपमा वृद्धि भएको बताउने कृषक परिवारको संख्या १४ हजार ४ सय ३३, ब्रिडिङ्ग समयमा परिवर्तन आएको बताउने कृषक परिवारको संख्या १ हजार ५ सय १२ तथा प्रजातिको लोप÷उत्थान भएको बताउने कृषक परिवारको संख्या २ हजार २ सय २ तथा अन्य कारण उल्लेख गर्ने कृषक परिवारको संख्या ३७ रहेको छ ।

Exit mobile version