बालसुधार गृहमा तनाव

बाँकेको बैजनाथ गाउँपालिका–२ स्थित नौबस्तामा रहेको बाल सुधार गृहमा आइतबार झडप भएको छ । यसअघि दुई समूह बीचको आपसी विवाद साम्य पार्न प्रहरी, प्रशासनको टोली पुगेर सम्झाई, बुझाई गरेर फर्किएको केही बेरमै तनावले उग्र रूप लिएको छ । बाल सुधार गृहमा रहेकाहरूले विभिन्न माग गर्दै सुधार गृह भित्र तोडफोड मच्चाउनुका साथै एउटा सरकारी गाडीमा तोडफोड समेत गरेका छन् ।

बाँकेको ड्ुडुवा गाउँपालिकामा रहेको सुधार गृहमा ज्यानै जाने गरेकी भएको झडपछि त्यहाँका १८ बर्ष उमेर नाघेकाहरूलाई नौबस्ता सुधार गृह सारिएको थियो । त्यसबाहेक देशका विभिन्न ठाउँबाट बालबिज्याईका १८ बर्ष उमेर नाघेकाहरूलाई नौबस्ता स्थित सुधार गृह ल्याइएको थियो । नौबस्ताको बालसुधार गृह व्यवस्थित बनाउन तथा अवाञ्छित गतिविधि हुन नदिन त्यहाँ यसअघि प्रहरी, प्रशासनका अधिकारी त्यहाँ पुग्ने गरेका थिए । तर, पनि आइतबार त्यहाँ झडप मात्रै भएन केही घाइते समेत भएको बताइएको छ ।

बालबिज्याई गर्नेलाई सुधारका लागि राखिएकाले उद्दण्डता नियन्त्रणमा बल प्रयोग गर्न नहुने भएकाले पनि सुधार केन्द्रहरूमा ‘बाल उदण्डता’ नियन्त्रण चुनौति बनिरहेको छ । बाल सुधार गृह भित्र हुलहुज्जत, तोडफोड हुँदा प्रहरी कारागारमा जसरी भित्र छिर्न नमिल्ने, बल प्रयोग गर्न नहुने र सम्झाई बुझाई गरी स्थिति नियन्त्रणमा लिनु पर्ने हुन्छ ।

बाल सुधार गृहभित्र रहेको कमी, कमजोरी, बाल सुधार गृहमा बसिरहेकाहरूले भोग्नु परिरहेको सास्ती, खेलकुद तथा अध्ययनको वातावरण नहुनु, उत्प्रेरणाका कार्यक्रम पर्याप्त नहुने लगायतका कारणले बालसुधार गृहमा बेलाबेला तनाव तथा झडपका घटना भैरहन्छन् । त्यसलाई नियन्त्रणमा लिन बल प्रयोग नगरिने भएकाले पनि उमेर पुगिसकेकाहरूले अन्यलाई पनि उक्साउँदै उदण्डता मच्चाउने गरेका हुन् । १८ बर्ष माथिकालाई नौबस्ता बाल सुधार गृहमा सारिएपनि उदण्डता नियन्त्रणमा प्रहरी संयमित हुँदै शान्तिपूर्ण रूपमै समाधान खोजिरहेको छ ।
‘बालसुधार गृहमा भैरहेको तनाव नियन्त्रणमा लिने प्रयासमा छौं’, बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले अबेर राती दैनिक नेपालगन्जसँग भने ।

बाल सुधार गृहमा भैरहेको तनावका क्रममा बालबिज्याईमा रहेकाहरूले छतबाट ढुंगा हान्ने, आपसमै विवाद गर्ने गर्नुका साथै केही सुधार गृहबाट फरार भएको पनि बताइन्छ । अवस्था सामान्य भएर गणना नहुँदा सम्म बाल सुधार गृहबाट कोही भागे, भागेनन् भन्न नसकिने प्रहरी अधिकारी बताउँछन् ।

Exit mobile version