के बुद्धिको बिर्को खोल्ने नै हो त ?

मानवीय मूल्यमाथि पशुवत् आक्रमण भइरहेको बेला म युवा विद्यार्थी, अभिभावक र गुरुजनसँग केही बात मार्न जाँदैछु । म आफैँलाई अर्जाप्न युवा तथा किशोर विद्यार्थीसँग सिक्न आएको आयुको सात दशकको युवा हुँ । मैले ९६ वर्षमा पनि वकालत गरिरहेका कानुनका गुरुवा कृष्ण प्रसाद भण्डारी र ९५ बर्षमा पनि लेखिरहेका लेखक पत्रकार भैरव रिसालसँग संगत गरेको छु । आउनूस् आज बुद्धिमा ताल्चा लगाउने कि बिर्को खोल्ने विषयमा चर्चा गरौँ ।

मौसम चिसो छ । आफ्ना थोत्रा विचार, अमानुष बनाउने संस्कृति, खुशी बेचेर सुख किन्न लालसालाई आगो सल्काएर आगो तापौँ । ज्ञानका क्षेत्रफल कसरी चौडा पार्ने र हामी को हौ ? हामी के बन्न खोज्दैछौ ? बारे छलफल गरौँ ।

जब अज्ञानता परमानन्द बन्छ तब नयाँ सोच गरेर किन दुख बेसाउँने भन्ने लाग्न सक्ला । तर शिक्षाले भने मान्छेलाई पशुबाट मानवतामा फेर्ने, सपनालाई पुरा गर्न आत्मविश्वास जगाउँछ । त्यस रथका सारथी भने गुरुजन हुन् । हुनुपर्छ पनि ।.

– प्रीय विद्यार्थी साथीहरू, म उपदेशक बनेर नभै आफूलेले पाएका र संगालेका ज्ञान र अनुभव साटन आएको मात्र हुँ । मेरो कपाल घामले मात्रै फुलेको हैन । म जीवन र समयसँग विज्ञानको आँखीझ्यालबाट चिहाउँदै, विज्ञानका भाषामा कुरा गर्न रुचाउने मान्छे । अहिले शब्दका पारम्पारिक अर्थ फेरिए । मूल्य र आदर्श पनि फेरिए ।
–जीवनयात्रामा उकालो कठिन हुन्छ, ओरालो सजिलो । तपाई ओरालो नभै उकालो चढेर मात्र लक्षमा पुग्न सक्नुहुन्छ ।

–आखिर तपाईँहरूले जीवनका लक्ष छानिसक्नु भएको होला, छान्नुपर्छ । समाज नित्य नयाँ हुन्छ । हिजोको र आजको मान्छे फरक हुन्छ । उमेर र अनुभव बढ्दै जाँदा ज्ञानको क्षेत्रफल चौडा हुँदै जाँदा आँखा, दृष्टि बन्न पुग्छन् । दृष्टिमा दृष्टिकोण भरिन्छ । तब दृष्यहरू फरक देखिन थाल्छ । सत्यले अर्को परीक्षा लिन्छ ।

– जीवनका लक्ष्य प्राप्त गर्ने कुनै सूत्र हुँदैनन् । पढ्नुको अर्थ तपाई आफनो भूगोल, इतिहास र संस्कृतिबारे जानकार हुँनैपर्छ । एक्टिंग लोकल्ली, थिङ्किंग ग्लोबली ! – आधुनिक बन्न सबै रुचाउँछन् । आखिर आधुनिकता के हो ? आधुनिकता पहिरनमा हैन् विचारमा चिन्तनमा, भूमिकामा, दायित्वमा हुन्छ । –सुन्दरता बस्तुमा नभै दृष्टिमा हुन्छ ।
– तपाईका जीवनका हुटहुटी के हुन ? किन पढ्ने ? पढेर के हुन्छ ? जीवनलाई पढेर के असर पार्छ ? – जिज्ञासा बढेर किन र कसरी ? भन्ने कुराले प्रश्न गर्न सिकायो भने तपाई नित्य नयाँ र आधुनिक बन्न सक्नुहुन्छ । –सपना देख्नुस् । पुरा गर्न लागि पर्नुस् । सपना नदेख्ने मान्छे, मानव बन्नै सक्दैन । – हरेक चौतारी सुस्ताउन मात्र हो, पसिना पुछेर लम्कनुपर्छ । चौबाटोबाट गन्तव्य छानिनेछ । हरेक चौबाटो जिन्दगीका महाघुम्टी हुन्छन । यो बाटो नगएर अर्को बाटो हिँडेको भए जीवनका अर्थ अर्को लाग्थ्यो । जिन्दगीका परिभाषा पाउने हरेक मान्छेले फर्केर हेर्दा ती चौबाटा फेरि नियाल्ने गर्छ ।

– हरेक मान्छे शिक्षक हुन सक्छन् । सिक्न हामी कति चाहन्छौ ? म को हुँ ? आइ क्यान, आइ मस्ट डु, इफ आइ नट, हु उइल बी ? सोच्नुस त । कुनै काम भयो, त किन भयो ? भएन त किन भएन ? के कारणले के भयो ? परिणामका के आए ? त्यस पछाडि के कारण छन् ? सोंच्दा आधुनिक मान्छे हुइन्छ ।
– मान्छे भित्र अचम्म क्षमता हुन्छ । मान्छेभित्र एकैपटक धेरै मान्छे सक्रिय हुन्छन । सबै दुखः ध्वस्त गर्न आँउदैन बरु नयाँ सम्भावनाको ढोका खोल्न पनि आँउछन् । –तपाई बाँचिरहेको रहेको समाज, देश र विश्वबारे जानकार हुनैपर्छ ।

–सफल मान्छेले अरुले गरेकै काम पनि फरक तरिकाले गर्छन । सबैकुरा किताबमा हुँदैन । समाज ठूलो विश्वविद्यालय हो । बूढापाका एउटा ठूलो पुस्तकालय हुन् । इतिहास मुर्दाको कथा हैन । नैतिक शिक्षा पण्डित, पादरी र मुल्लाका अर्ति हुँदैनन् । सामाजिक अनुशासनले तपाईँलाई योग्य नागरिक बनाइरहेको हुन्छ । अपराध गर्नबाट जोगाइरहेको हुन्छ । तपाई पुनर्वास क्षेत्रमा हुनुहुन्छ । कसरी जङ्गल फाडियो ? कसरी बाघ भालु सर्पसँग पुर्खाले संघर्ष गरे ? बसाइँसराइका पीडा के थिए ? तपाइको अहिलेको जिन्दगी यहाँसम्म ल्याउन पुर्खाको कुरा हैन, बाउआमाकै संघर्षका कथा सुन्नुस् र बुझ्नुस् । ढोका थाहा नभए भित्र पस्न सकेपनि बाहिर निक्लन सकिँदैन ।

–संगतलेनै तपाईंको भविष्य निर्धारण गर्छ । काजु किसमिसका पसलका फोहरभन्दा सुनारको आरनको फोहर महङ्गोमा बिक्छन् । – जान्दिन र सक्दिन भन्ने छुट तपाईलाई हुँदैहुँदैन । ज्ञान र सूचनाको हुटहुटी हुनु पर्यो । विद्यार्थी बन्नुस्, शिक्षार्थी हैन । मालीले फूलसँग बात मार्न र किसानले माटोको सुगन्ध पहिल्याएर कुन बेला कुन बिउ रोपे धर्ती ब्याऊँछ भन्ने बुझन विश्वविद्यालय जाँदैन । प्रविधि मैत्री हुनुस् । विश्व र विषय अध्ययन गर्न भाषाले समस्या पार्दैन । अनेकौँ की टुल्स कीट छन् । हिडेपछि बाटो बन्छ, पहिल्यै तयार हुँदैन । तथ्यसँग जोडिएको तर्कलाई मात्र विश्वास गर्नुस् । विषयको सत्यता पुष्टि गर्न गुरुजन, विषयज्ञाता वा इन्टरनेटको सर्च की प्रयोग गर्नुस् । विश्वास गर्न पहिला त्यसको सत्यता पुष्टि गर्नुस् । शंकालु बनेपछि जिज्ञासु भइन्छ । ज्ञानको ढोका खोल्न वा परिमार्जन गर्न सहयोग पुग्छ । – तपाईंको सफलताको रहस्य हिन्दी उखान या त हट्के या त बड्के झंै हुनुपर्छ । – तपाई चीट चोरेर पास हुनुभन्दा फेल हुन उत्तम । यदि चिटै चोर्नु हुन्छ भने पनि नक्कल गर्न अक्कल चाहिन्छ । आफ्नै भाषा शैली र निजात्मकता चाहिन्छ । –स्वत्व नभएको मान्छे पशु बराबर हो । तर स्वत्वको यात्रा स्वाभिमान र अहंकारको दुबै बाटो भएर अगाडि जान सक्छ । स्वाभिमान र अहंकार फरक हुन । स्वाभिमान सिर्जनात्मक हुन्छ भने अहंकार घमण्डमा फेरिएर ध्वंसात्मक हुन्छ ।

– राजनीतिबाट उदासिन नहुनुस् । तर पार्टी र नेतामा जहिलेपनि आलोचनात्मक चेत राख्नुस् । तपाई राजनीतिमा उदासिन हुनुभयो भने परिणाममा भ्रष्ट, असक्षम अपराधी नेता जन्माउने अपराध तपाईंले नै ब्यहोर्नु पर्छ ।

सफलता र असफलता बारे म केही उदाहरण पेस गर्छु ।
–आईफोनको नाम नसुन्ने अब कमै युवा होलान । स्टीव जब्स जुन कम्पनीबाट निकालिए उसै कम्पनीको एप्पल किनेर प्रमुख बने । नेक्स्ट र पिक्सर जस्तो उपक्रमलें अन्ततः एप्पलमा फेरि उनलाई मूख्य कार्यकारीमा फिर्ता ल्यायो । –कम्युटर अब आधुनिक जीवनको हिस्सा बनिसक्यो । विलगेट्सको नाम नसुन्ने अब आधुनिक यूगमा कमै होलान । निरन्तरताले माइक्रोसफ्टको मालिक बनाएपछि ३० वर्षकै उमेरमा संसारकै सबभन्दा कम उमेरको अरबपति बनायो । उनी ट्रैफ–ओ–डेटा को–ओनरशिपमा असफल भएका थिए । असफलताले उनलाई दक्षता र कर्मप्रति अझ उत्साही बनायो । भन्छन्– ‘सफलताको उत्सर्ग मनाउनु त ठिक छ तर असफलताको शिक्षामा ध्यानदिनु धेरै महत्वपूर्ण हुन्छ ।’ अल्बर्ट आइन्स्टाइनः– विज्ञान उत्पादनको प्रयोग अब महाधर्मात्माका पनि जीवन पद्दति बनिसके । रिलेटिविटीः द स्पेशल एंड द जेनरल थ्योरीको जनकका जनक अल्बर्ट आइनस्टाइनलाई नसुन्ने,नपढने को होला ? कुनै विद्यार्थी आइन्सटाइनको नाम र काम थाहा नपाउने होला र ? उनी नौ वर्षसम्म धाराप्रवाह बोल्न सक्दैनथे । विद्रोही स्वभावका कारण स्कुलबाट निकालिए । ज्यूरिख पोलिटेक्निक स्कुल प्रवेश पाएनन् । तर सबै असफलताले १९२१ मा भौतिक विज्ञानको नोबेल पुरस्कार जित्न भने रोकेन । भन्थे – ‘सफलताको प्रगतिमा विफलता रहन्छ ।’

– अब्राहम लिंकन १८३१ व्यापार असफल भएपछि १८३६ एक नर्वस ब्रेक डाउन रोगले पीडित भएका लिङ्कनले १८५६ं राष्ट्रपति पदको प्रतिस्पर्धाबाट बाहिरिनु पर्यो । उनी बुर्जुवा प्रजातन्त्रले जनताद्वारा, जनताले, जनताकालाई चुनिने व्यवस्था नै प्रजातन्त्र हो राजनीतिक सिद्दान्त आज पनि पछ्याउछन् । अमेरिकी १६ औं राष्ट्रपति सार्कीपुत्र लिंकन बाउले बनाएका जुत्ताको सदनमा सम्म गर्व गर्थे । काला र गोराको द्वन्द्व र नागरिक अधिकारकालाई भएको गृहयुद्धमा उनी समानताका पक्षमा रहे । स्टिभन स्पीलबर्गः सबभन्दा प्रभावशाली फिल्म निर्मातामध्येका एक हुन् । हाईस्कुल अत्यन्तै खराब नतिजा रह्यो । ं दक्षिणी क्यालिफोर्निया विश्वविद्यालमा ३ पटकसम्म प्रवेश पाएनन् । तिनै महान निर्देशकले महत्वपूर्ण फिल्महरू निर्देशन गरेर फिल्मजगतको महत्वपूर्ण ं अस्कर पुरस्कार तीन पटक जिते । वॉल्ट डिज्नीः बच्चा र किशोरहरुको मनजित्ने मिकी माउस निर्माता वॉल्ट डिजनी सेनामा भर्न असफल प्रयास गरे । कम उमेरमै स्कुल त्याग्न वाध्य भए । लाफ–ओ–ग्राम स्टूडियोमा असफल भएर घरखेत सकिएपछि निकालियो । पत्रिकामा काम गर्न थाल्दा पर्याप्त कल्पना शक्ति अभावमा भनिएर निकालियो । मेहनत र आत्म विश्वासले डिज्नी स्टुडियो संसारमै तहल्का मचायो । ‘हामी धेरैबेर पछाडि फर्केर हेर्दैनौ । हामी अगाडि बढदै नयाँ ढोका खोल्दै र नयाँ चिज गर्दै जान्छौ । किनकी हामी जिज्ञासु हुन्छौ । किनकी जिज्ञासाले नयाँ बाटोतिर लगिरहन्छ’, उनी भन्छन । हामी विजुली बेगरको संसार अब त कल्पनै गन सक्दैनौ । थोमस एडिसनले विजुली बल्ब बनाउन १० हजारपटक भन्दा धेरै असफल भए । उनी नयाँ युनिफर्म किन्न नसक्दा स्कूलबाट निस्कासन हुनु परेको थियो ।

अभिभावक ।
–पढेलेखेको हुनु सजिलो छ तर जागरुक र समझदार हुन औधी गाह्रो । किसानभन्दा धेरैजसो शिक्षित मान्छे नै अन्धविश्वासी हुन्छ । उ कर्ममा भन्दा पनि भाग्यमा विश्वास गर्दा आस र त्रासले हाकिन्छ ।

–हरेक सन्तानहरू बाउआमाका अतृप्त सपनाका भारी बोक्न बाध्य छन् । तपाईँहरू आफ्ना सपना, पीडा, संघर्ष गाथा सन्तानसंग साझा गर्नुस् । बसाइ सराइएका दुख, स्थापित हुँदा झेल्नुपरेका पुनर्वासका समस्या आफ्ना सन्तानलाई साझा गर्नुस् ।
–युग फेरिन्छ । तपाईले विताएको र सन्तानले विताउदै गरेको समय र सामाजिक चरित्रमा धेरै फेरबदल आइसक्यो । सन्तानका चाहना, जीवनमूल्य र सपना पनि फेरिन्छन् । तपाईँहरूले समयको गति र समाजका मान्यता फेरिरहेको बुझन पर्ने हुन्छ ।

–जहिलेपनि समाजमा ३ प्रवृत्ति रहन्छन् । यथास्थिति, अग्रगमन र पश्चगमन । हरेक कालखण्डमा ३ प्रवृत्तिकै बाहक बीच द्वन्द्व भैरहन्छ । नयाँ बन्न चाहे पनि मान्छे एकैपटक नयाँ बन्न सक्दैन । नेचर, कल्चर र सिग्नेचर फेर्न औधी गाह्रो पर्छ । तपाई कहाँ उभिनुभएको छ ? निक्र्याैल गर्नुपर्छ ।तपाई अभिभावक हो, आज भन्दा १ सय ६२ वर्ष पहिला अमेरिकन १६ औं राष्ट्रपति अब्राहम लिङ्कनले आफ्ना छोराको गुरुलाई लेखेको पत्रको भावानुवाद सुनाउछु ।

–मेरो छोरोको आजदेखि स्कुल सुरु हुँदैछ । उसको लागि केही समय यी सबै अनौठो र नयाँ हुन गइरहेको छ । र, म चाहन्छु कि तपाईंले उसलाई नम्र व्यवहार गर्नुहुन्छ । यो एक साहसिक कार्य हो जसले उसलाई महाद्वीपहरूमा लैजान सक्छ । सम्भवतः युद्ध, त्रासदी र दुःख समावेश गर्ने सबै साहसिक कार्यहरू बुझने छ । यस्तो जीवन जिउन विश्वास, प्रेम र साहस धेरै चाहिन्छ ।
त्यसैले प्रिय शिक्षक, कृपया उसको हात समातेर उसलाई थाहा हुने कुराहरू सिकाउनुहोस् । यदि तपाईं सक्नुहुन्छ भने नम्रतापूर्वक उसलाई सिकाउनु होस् ।
– उसलाई सिकाउनु होस् कि हरेक शत्रुको एक मित्र हुन्छ । उसले जान्नुपर्दछ कि सबै मानिसहरू न्यायी छैनन्, सबै मानिसहरू सत्य छैनन् । तर उसलाई यो पनि सिकाउनु होस् कि हरेक बदमासको लागि एक नायक हुन्छ, कि प्रत्येक कुटिल राजनीतिज्ञको लागि एक समर्पित नेता हुन्छ । तपाइ सक्नुहुन्छ उसलाई सिकाउनु होस् आफैँले कमाएको १० सेन्ट एक डलरभन्दा धेरै मूल्यवान छ ।

चिट चोरेर पास हुनुभन्दा फेल हुनु धेरै सम्मानजनक छ । उसलाई कसरी रमाइलो तरिकाले हार्ने भनेर सिक्न सिकाउनु होस्, र जब उसले जित्छ तब जित्ने आनन्द लिन सिकाउनु होस् । उसलाई मानिसहरूसँग नम्र हुन, कठोर मानिसहरूसँग कठोर हुन सिकाउनु होस् । यदि तपाईं सक्नुहुन्छ भने उसलाई ईष्र्याबाट जोगाउनुस् र शान्त हाँसोको रहस्य सिकाउनु होस् । सकिन्छ भने उसलाई सिकाउनुस् ।

– दुखी हुँदा कसरी हाँस्ने, आँशुमा लाज हुदैँन सिकाउनुस् । उसलाई सिकाउनु होस् असफलतामा महिमा र सफलतामा निराशा हुन सक्छ । उसलाई निन्दाको उपहास गर्न सिकाउनु होस् । उसलाई किताबका चमत्कारहरू सिकाउनु होस्, तर आकाशमा चराहरू, घाममा मौरी र हरियो पहाडमा फूलहरूको चरम रहस्य मनन् गर्न समय दिनुहोस् । यदि सबैले उसलाई गलत छन् भने पनि आफ्नो विचारमा विश्वास गर्न सिकाउनु होस् । मेरो छोरालाई भीडलाई नपछ्याउने शक्ति दिने प्रयास गर्नुहोस् । उसलाई सबैको कुरा सुन्न सिकाउनु होस्, तर उसलाई सत्य कुरा छान्दा आउने राम्रोलाई मात्र लिन सिकाउनु होस् । उसलाई आफ्नो प्रतिभा र दिमागको उच्चतम प्रदर्शनकर्ता बन्न सिकाउनुहोस् तर उसको हृदय र आत्मामा मूल्य कहिल्यै नतोकोस् । उसलाई अधीर हुने हिम्मत होस्, उसलाई साहसी बन्ने धैर्य होस् । उसलाई आफैमा उत्कृष्ट विश्वास गर्न सिकाउनुहोस्, किनकि तब उसले सधैं मानवजाति र नैतिकतामा उदात्त विश्वास राख्नेछ ।यो आदेश हो, शिक्षक, तर तपाईले के गर्न सक्नुहुन्छ हेर्नुहोस् । ऊ यस्तो राम्रो सानो केटा हो र ऊ मेरो छोरो हो ।

अब्राहम लिकंन
शिक्षक – म तपाईँहरूलाई शिक्षक भन्दा गुरु बनेको देख्न चाहन्छु ।
–तपाईले विद्यार्थीको अन्तरनिहित क्षमताको पहिचान गर्नु र त्यसलाई वाणी दिनु पर्छ ।
– विद्यार्थीमाझ आफैप्रति दृढविश्वास जगाउन सक्नु पर्छ ।
– बन्दुक र पैसा दिनुभन्दा विचार दिनु ठुलो शक्ति दिनु हो । तर बुद्धि दिन र मस्तिष्कको गोदाममा संचय गरिएका ज्ञान,सूचना र अनुभवलाई पर्दा प्रयोग गर्ने विद्यार्थी उत्पादन गर्नु फलामको च्यूरा चपाएजस्तै होला ।
– शिक्षण पेशा मात्रै हैन, सामाजिक परिवर्तनको महानायक बन्नु हो । उसले दृष्टिमा दृष्टिकोण, हृदयमा भावना र मस्तिष्कका ज्ञानको क्षेत्रफल फैलाएर नित्य नयाँ मान्छे बनाँउछ । त्यसैले गुरु कहलिन्छन् । तपाई सामु उभिएको प्रश्न नै तपाई कस्तो विश्व नागरिक तयार गर्दै हुनुहुन्छ भन्ने हो । – शिक्षक सामू चुनौति भिडबाट जोगाएर स्वयंले सोच्न सक्ने जिज्ञासु मानव निर्माता बन्ने हो ।
– शिक्षकले त आफूभन्दा विद्यार्थीले धेरै जानेको, तथ्य र तर्क सँगालेको पनि हुन सक्छ भनेर धेरै अध्ययन र संकलन गर्न आवश्यक हुन्छ । जिज्ञासु विद्यार्थीसंग त गम्भीर प्रश्नको नसर्री ब्याड नै हुन्छ । ति जिज्ञासा शान्त गर्ने चुनौतीको सामना हरेक दिन शिक्षकले गरिरहेका हुन्छन । आफैलाई थाहा नभएको कुरा भन्ने अधिकार शिक्षकसँग हुँदैन । अपडेट भएर अर्को दिन दिनुपर्छ । केहीपनि सर्वज्ञ हुँदैन । नजान्नु अपराध हुँदैन तर नजानेका कुरा सिकाउनु शिक्षकको अपराध भने हुन्छ । – गुरु र शिक्षक, गुरु र नेता, विद्यालय र शिक्षालय फरक हुन् । नेताले अनुयायी वा कार्यकर्ता आफू समान कहिल्यै देख्न चाहँदैन तर गुरुहरु शिष्यले सधै जितोस् भन्ने चाहन्छन् । – यदि तपाई सबैलाई खुशी पार्न चाहानु हुन्छ, पुराना सोंच भत्काएर नयाँ मान्छे बनाउन आफैँलाई नित्य नयाँ बनाउनु हुन्न भने तपाई शिक्षण पेशा छोडेर व्यापार गर्न थाल्नुस् ।

अन्तमा,
– बुद्धिजीवी सिंह हुन तर स्यालको बिहेमा दमाहा ठोक्छन् – हरिशंकर परसाई – एउटा चरित्रहीन, आस र त्रासमा मात्रै बाँचिरहेका, जिज्ञासा र दायित्व नभएको मान्छे जागिरे बने पनि योग्य शिक्षक भने बन्न सक्दैन । सपना देखाउनु त पर्छ तर आफ्ना अतृप्त सपनाको भारी बोकाइरहेको अभिभावक पनि योग्य मान्न सकिँदैन । जिज्ञासा, निरन्तरता र आई क्यान भन्ने विद्यार्थी उत्पादन गर्न नसक्नु स्कुल र शिक्षकको कमजोरी मानिन्छ । – समय, मान्छे र सोच नित्य नयाँ बनिरहन्छ । हिजो र आजको एउटै हुँदैन । ज्ञान र सूचना, अभ्यास र जानकारीले नयाँ मान्छे बन्छ तव मात्रै हामी मुर्दा समाज बनाउने अपराधबाट जोगाइन्छौ ।
– थ्रि इडियट फिल्म हेर्नुस्, स्ट्रगल फर एण्ड एजुकेसन र कोही किन बरबाद होस् पढ्नुस् ।
–म धेरै कुरा जान्दिन, नजानेको छु भन्ने कुरा भने जानेकोले जिज्ञासु र विद्यार्थी बनिरहने, अरुसँग सिकिरहने मसँग इच्छाशक्ति छ । धन्यवाद ।
(योगीकुटी उच्च मावि, खजुरामा मलाई नयाँ युगका नया प्रतिभा विद्यार्थी अर्थात भविष्यका मेरा नेतासंग सिक्ने, अभिभावक र गुरुजनसंग आफ्ना अनुभूति राख्ने अवसर दिलाउने बिद्यालय परिवारलाई धन्यवाद ।)

Exit mobile version