नागरिक उन्मुक्ति पार्टीको विवाद छताछुल्लः रेशमले लेखे रञ्जितालाई खुला पत्र

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी आन्तरिक विवादमा फसेका परिस्थितिबारे धारणा सार्वजनिक गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत् उनले लोग्नेस्वास्नीका कारण पार्टी डुब्ने चिन्ता व्यक्त गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्ति पार्टीमा दुई धार देखिएको छ । सोही विषयलाई लिएर संरक्षक चौधरीले आफ्ना धारणा सार्वजनिक गरेका हुन् ।

पार्टी अध्यक्ष एवं संसदीय दलकी नेता रन्जिता श्रेष्ठले वर्तमान सरकारलाई विश्वासको मत दिन ह्विप जारी गरेकी छन् भने पार्टीका संस्थापकहरूको बैठकले विपक्षमा मतदान गर्ने भन्दै विज्ञप्ति जारी गरेसँगै पार्टी भित्रको विवाद चुलिएको हो । संरक्षक चौधरीले रन्जिता श्रेष्ठलाई सम्झाउन नसकेको उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय, र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्नेस्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ । तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न । आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदयदेखि चाहनेवाला हुन् । मलाई भोट हाल, मलाई भोट हाल भन्नेहरु हामीलाई डुबाउनेवाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौं टण्टै साफ ।’

संरक्षक चौधरीले केन्द्रीय कमिटीको निणर्य नमान्नेलाई कारबाही हुने पनि बताएका छन् । ‘याद रहोस्, केन्द्रीय कमिटीको निणर्य नमान्नेलाई कारबाही गर्नुपर्छ र कारबाही भोग्नुपर्छ । सबैलाई लागेको होला, केन्द्रीय समितिको निणर्य मैले गराएको हुँ । यो सोच्दै हुनुहुन्छ भने तपाईं भ्रममा हुनुहुन्छ । अहिले भन्न सक्दिनँ अहिले केन्द्रीय समितिले स्वतन्त्र भइ निणर्य गरेको हो । अब हरेक निणर्य यसरी नै स्वतन्त्र भइ गर्नुपर्छ, ’ उनले लेखेका छन् ।

संरक्षक चौधरीले कुनै पनि गठबन्धनका पछाडि नलाग्न पनि आग्रह गरेका छन् । ‘कुरा बुझौं, कुनैपनि गठबन्धनका पछाडि नलागौं । नागरिक उन्मुक्ति पार्टी कांग्रेस/कम्युनिस्ट होइन, भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो । त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौं । आफ्नो नीति सिद्धान्त अनुरूप चलौं,’ उनले लेखेका छन् ।

संरक्षक चौधरीले रन्जितालाई सम्झाउन कैलालीबाट काठमाडौं आएको पनि उल्लेख गरेका छन् । ‘कुरो रहृयो बुढाबुढीको । म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ  । दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन् । प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नु हुन्न भन्छिन् । अरे लाटी, टीकापुर घटनापछि पनि प्रचण्ड दुई चोटी प्रधानमन्त्री भएकै थिए । हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो, तर हामी रिहा भएनौं नि । अहिलेपनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौं र तिमी पनि मन्त्री भएकि हौ, ’ उनले लेखेका छन् ।

निर्वाचन आयोगले आफूलाई मान्यता नदिएको बारेपनि संरक्षक चौधरीको आक्रोश छ । प्रधानमन्त्री प्रचण्डले बुधबारका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् । संघीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ ।

Exit mobile version