विमानस्थल सुधारका सवालमा छलफल

अधिकारकर्मीले नेपालगन्ज विमानस्थल नागरिक उड्डयन कार्यालय र एयरलाईन्सका प्रतिनिधिसंग बिमास्थलको सुधार, पार्किङ्ग शुल्क, सेवाको गुणस्तर र सुधार गरिनु पक्षहरूका सवालमा छलफल गरेका छन् ।

नेपालगन्ज एयरपोर्ट भित्र लिइने पार्किङ्ग शुल्क, त्यसको सम्झौता लगायतका बारेमा नेपालगन्ज विमानस्थल नागरिक उड्डयन कार्यालयसँग सूचना माग गरेका कानून ब्यवसायीहरूले बिमानस्थलमा सुधार गरिनु पर्ने पक्ष, सेवाको गुणस्तर, बिमान डिले हुँदा यात्रुलाई समयमै दिइनु पर्ने सुचना, यात्रुलाई दिनु पर्ने सुबिधा, सेवाको गुणस्तरका बारेमा नेपालगंज विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक सुरेश प्रसाद खनाल र एयरलाईन्सका प्रतिनिधिसंग छलफल गरेका हुन् ।

छलफलमा नेपालगन्ज विमानस्थल नागरिक उड्डयन कार्यालय र एयरलाईन्सका प्रतिनिधिहरूले सेवाको सुधार र गुणस्तरमा ध्यान दिने बताएका थिए ।

छलफलका क्रममा कानून ब्यवसायीहरूले बिमानस्थल भित्रका क्यान्टिनले लिने मनपरि शुल्क, खाद्यबस्तुको गुणस्तर, बिमानस्थलमा सामान ओसार्ने ट्रलीको कमि, हवाईजहाजले यात्रुलाई दिने खानेपानी, चकलेट, कुकिजमा कटौती लगायतका सवालमा ध्यानाकर्षण गराएका थिए । प्रतिउत्तरमा नेपालगंज विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख र एयरलाइन्स प्रतिनिधिले सुधार गरिन सकिने कुराहरूका सुधार गर्दै जाने र केन्द्रबाट सम्बोधन गरिनु पर्ने सवालमा केन्द्रमा लेखि पठाउने बताएका थिए ।

छलफलमा नेपालगन्ज विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक सुरेश प्रसाद खनाल, उपप्रवन्धक तेज बहादुर बुढथापा, वरिष्ठ अधिकृत धिरेन्द्र रिजाल, बुद्ध एयरका बिनित कुमार शाह, श्रीएयरका उपेन्द्र श्रेष्ठ, समिट एयरका दिपक शाह, सिता एयरका राजेश चौधरी, तारा एयरका उत्तम कुमार शर्मा लगायतको सहभागिता रहेको थियो । छलफलमा कानून ब्यवसायीहरू एडभोकेसी फोरमका लुम्बिनी प्रदेशका संयोजक अधिवक्ता बसन्त गौतम, विकास आचार्य, बल बहादुर चन्द, बिश्वजित तिवारी र नागरिक समाज नेपालगन्ज अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ सहभागी थिए ।

Exit mobile version