जोखिम मोलेर भारतका कोठीबाट उद्दार

मानवबेचबिखन विरुद्ध क्रियाशिल संघ, संस्थाहरूले अपेक्षित रूपमा सरकारी निकायको सहयोग नपाएपनि आफ्नै पहलमा भारतसम्म पुगेर बेचिएका तथा जोखिमपूर्ण काम गरिरहेका महिला तथा बालबालिकाको उद्दार गरिरहेका छन् ।

पछिल्ला बर्षहरू जोखिमपूर्ण रूपमा भारतबाट उद्दार गरिने क्रम बढ्दै गएको छ । मानवबेचबिखनको सूचना, स्थान र एकीन गरेर त्यहाँ पुग्दा खोजेको मान्छे नभेटिने, स्थानीय प्रहरीको सहयोग पाउन दिएको सूचना ‘लिक’ हुँदा खोजेको व्यक्ति नभेटिने अवस्था पनि मानवबेचबिखन विरुद्धका अभियन्ताले झेलिरहेका छन् । भारतमा रहेका कोठी चाहार्दा हुने जोखिम उद्दारकर्ताका लागि चुनौति बनिरहेको छ ।

माइती नेपालले प्रत्येक बर्ष भारतबाट बेचबिखन तथा जोखिमपूर्ण काममा रहेका महिला तथा बालबालिकाको उद्दार गर्न सफल भैरहेको छ । माइती नेपाल नेपालगन्ज प्रमुख केवश कोइराला सन् २०२३ मा पनि १२ जनालाई भारतबाट उद्दार गरी ल्याउन सफल भएको बताउँछन् । ‘भारतको दिल्ली, महाराष्ट्र, यूपिका विभिन्न स्थान, हिमाञ्चल र उत्तराखण्डबाट उद्दार गरेर ल्याएका छौं’, माइती नेपाल नेपालगन्जका प्रमुख कोइरालाले भने, ‘श्रम र यौन शोषणमा परेकालाई उद्दार गरेका हौं ।’

‘कोठीबाट ७ जना महिला तथा बालबालिकाको उद्दार गर्न सफल भएका छौं’, कोइरालाले भने, ‘५ जना श्रम शोषणमा उद्दार गरेका हौं ।’
माइती नेपाल नेपालगन्जका केशव कोइराला अघिल्ला बर्षहरूमा समेत भारतका कोठी चाहारेर नेपाली महिलाहरूको उद्दार गर्ने टोलीमा सक्रिय रहेका छन् ।

कहाँ हराए ३ सय ८४ ?

माइती नेपाल नेपालगन्जमा सन् २०२३ मा खोज तलासका लागि उजुरी परेका मध्ये अधिकांसको अवस्था अझै अज्ञात रहेको छ । उजुरी दिएपछि भेटिएपनि खबर नगर्दा पनि तथ्यांमा अज्ञातको संख्या बढी भएको आशंका गरिन्छ । यद्यपि, माइती नेपाल नेपालगन्जका अनुसार, सन् २०२३ मा खोज तलासका लागि ४ सय ७९ उजुरी परेका थिए । जसमा २ सय ७८ जना भेटिए । तर, अझै पनि ३ सय ८४ जनाको अवस्था अज्ञात रहेको छ ।

‘खोज तलासका लागि परेको उजुरी, भेटिएको संख्या तथा उजुरी परेपनि नभेटिएकाको तथ्यांक हामीले अभिलेखिकरण गर्दै आएका छौं’, माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले भने । माइती नेपाल नेपालगन्जमा सन् २००२ देखि सन् २०२३ सम्म खोजीका लागि ८ हजार २ सय ३४ निवेदन परेको छ । उक्त अवधीमा १ हजार ९ सय १६ मात्रै निवेदन परेका मध्ये फेला परे । माइतीको तथ्यांक अनुसार, सन् २००२ देखि सन् २०२३ सम्म ६ हजार ३ सय १८ अझै बेपत्ता रहेका छन् ।

माइती नेपाल नेपालगन्जले नेपाल–भारतको जमुनाह नाकामा जोखिमपूर्ण यत्रामा रहेकाहरूको उद्दार गर्ने, उद्दारपछि पारिवारिक पुनर्मिलन गराउने, श्रम र यौन शोषणमा पर्नेको उद्दार गर्ने, सीमाबाट सम्झाई बुझाई घर फर्काउन, बलात्कारका घटनामा न्यायका लागि सहजीकरण गर्ने, किशोरीलाई सीपमूलक तालिम प्रदान गर्ने लगायतको काम गर्दै आएको छ ।
माइती नेपाल नेपालगन्जले सन् २०२३ मा ५ सय ९ जनालाई जोखिमपूर्ण यात्रामा रहेको भन्दै जमुनाह नाकाबार उद्दार गरेको छ । त्यस्तै, मानव बेचबिखन र सुरक्षित बसाईसराई बारे जानकारी दिई ५ सय २० जनाको पारिवारिक पुनर्मिलन गराएको छ ।

माइती नेपाल नेपालगन्जले श्रम र यौन शोषणमा परेका १२ जनाको उद्दार गरेको छ भने सीमानाकाबाट रामर्श दिई ४ सय ७९ जनालाई सन् २०२३ मा घर फर्काएको छ ।
माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले सन् २०२३ मा आफ्नो कार्यालयमा १२ वटा घरेलु हिंसाका निवेदन परेकोमा ५ वटा समाधान गरिएको जानकारी दिए ।

Exit mobile version