भन्सारमा थन्किएका सामान भित्र्याउन मन्त्रिस्तरीय निर्णय

एक सातादेखि भन्सारमै थन्किएका पेट्रोलियम अन्वेषण गर्न ल्याइएका उपकरणलाई भन्सार छुट दिन मन्त्रिस्तरीय निर्णय भएको छ । भन्सार करका लागि रोकिएका उक्त सामान मन्त्रिस्तरीय निर्णयले भन्सार छुट दिने निर्णय भएपछि अब ति सामान गन्तव्यमा पुग्न बाटो खुला भएको छ ।

नाका आइपुग्दासमेत भन्सार छुटका लागि कागजी प्रक्रिया नपुग्दा करिब एक सातादेखि ति सामानहरु भन्सारमै रोकिएका छन् । अर्थ मन्त्रालयले समयमै भन्सार छुटको निर्णय नगरेपछि गत बुधबार नेपालगन्जको रुपैडिया भन्सारमा पुगेका ३० ट्रक सामान भन्सार छुटपत्र कुरेर बसेका बसेका छन् । भन्सार छुटसहितको सिफारिस अर्थ मन्त्रालयले भन्सार विभागलाई पठाउने र विभागले नेपालगन्ज कार्यालयलाई परिपत्र गरेपछि मात्र उक्त सामानले प्रवेश पाउने छन् ।

फागुन २३ गते पुगेको सामान चेत १ गतेसम्म नाकामै थन्किएको अन्वेषण परियोजना प्रमुख दिनेश नापितले बताए । चीनबाट भारतको कलकत्ता हुँदै अन्वेषणका सामग्री दैलेख पुग्न लागेका हुन् । सामान ढिला पुगे काम पनि ढिला हुने उनको भनाइ छ । ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका १ को जलजलेमा चिनियाँ नौ प्राविधिकको टोली पुगिसकेको छ । ड्रिलिङ हुने स्थलमा ७० प्रतिशत काम सम्पन्न भएको छ । मेसिनरी सामान आए ड्रिलिङको काम सुरु हुने दैलेख उद्योग वाणिज्य महासंघका उद्योग उपाध्यक्ष रुपक थापाले बताए ।

सामान ल्याउनेले कागजी प्रक्रिया ढिलो गर्दा सामान छुट्न समय लागेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए । ‘उहाँले सामान आउँदासम्म कागजी प्रक्रिया अगाडि बढाउनु भएको थिएन,’ उनले भने, ‘कागजी प्रक्रिया पूरा भएपछि छोड्न समय लाग्दैन ।’ अहिले ति सामान ल्याएका ट्रकहरु नेपालगन्जमा राखिएको उनको भनाइ छ ।

Exit mobile version