नेपालगन्जका ट्राफिक लाइट किन बन्द भए ? यस्तो छ कारण

नेपालगन्जका व्यस्त सडकहरुको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन जडान गरिएका ट्राफिक लाइट पूर्ण सञ्चालनमा ढिलाइ भएको छ । परीक्षण सफल भए पनि उक्त लाइट नियमित प्रयोग गर्न ढिलाइ भइरहेको हो ।

राँझा, धम्बोझी, वीपी चोक र गणेशमान चोकमा एक महिना अघि परीक्षण गरिएको थियो । ति ठाउँका लाइट परीक्षण सफल भएका थिए । धम्बोझीमा भने लाइट सुचारु नै थियो । तर, एकाएक धम्बोझीको पनि उक्त लाइट बन्द भएको छ ।

करोडौं लगानीमा बनाइएका ट्राफिक लाइट किन बन्द भए त ?

निर्माण कम्पनीले ट्राफिक लाइटसम्बन्धी सबै काम सम्पन्न नगरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । अहिले ट्राफिक लाइट मात्र जडान गरिएको छ । ट्राफिक लाइट जडान गरेका ठाउँका जेब्रा क्रसिङ निर्माण, बस बिसौनी स्टेशन, कन्ट्रोलरुम निर्माणलगायतका काम अहिले पनि बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका बरिष्ठ सइ प्रवीण आचार्यले जानकारी दिए ।

धम्बोझीमा लाइन जडानको काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । निर्माण कार्य सम्पन्न भएपछि निर्माण कम्पनीले सडक विभागलाई हस्तान्तरण गर्ने र त्यसपछि सडक विभागले ट्राफिक प्रहरीलाई ति लाइट सञ्चालनको अनुमति दिएपछि नियमित हुने बरिष्ठ सइ आचार्यले जनाए । कहिलेसम्म नियमित प्रयोगमा आउछ भन्ने एकीन गर्न नसकिने उनको भनाइ छ ।

Exit mobile version