सरकारलाई असफल हुने छुट छैनः मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको छ ।

कोहलपुरमा सञ्चालनमा रहेको डल्फिन ग्रुप उद्योगको १४औँ वार्षिकोत्सव समारोहलाई नेपालगञ्जमा सम्बोधन गर्दै मन्त्री भण्डारीले अग्रगमन पक्षधरको सहकार्यमा बनेको वर्तमान सरकारले उद्योग क्षेत्रमा देखिएको निराशालाई आशामा बदल्ने गरी काम गर्ने उल्लेख गर्नुभयो । 

“अग्रगमन पक्षधरको सहकार्य भएको छ, अहिलेको आर्थिक अवस्थामा देखिएको चुनौतीलाई अवसरमा परिवर्तन गर्नेछ”, मन्त्री भण्डारीले भन्नुभयो, “हामी अग्नि परीक्षामा छौँ, जनतामा देखिएको निराशा आशा देखाउन नसके सत्ता छोड्नुपर्छ ।”

मुलुकमा देखिएको विद्यमान निराशालाई आशामा बदल्न सेवा प्रवाहलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो । “अर्थतन्त्र सफल बनाउन उद्योग–व्यवसायलाई लगानीमैत्री वातावरण बनाइने छ । व्यवस्थित योजना साथ लगानी सम्मेलन गर्नेछौँ”, मन्त्री भण्डारीले भन्नुभयो, “उद्योग क्षेत्रलाई आशालाग्दो र भरपर्दो बनाउन सरकार प्रतिबद्ध छ ।”

मन्त्री भण्डारीले खुल्ला सीमाबाट हुने आपराधिक क्रियाकलाप नियन्त्रण सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै बजार मूल्यवृद्धि र असन्तुलन कायम गर्ने र बैङ्क ब्याजदर न्यूनीकरण गर्न सरकार लागिपरेको बताउनुभयो ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले खुल्ला सीमाका कारण उद्योग व्यवसाय सञ्चालनमा समस्या भएको बताउनुभयो । 

डल्फिन ग्रुपका अध्यक्ष सूर्यबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगका सञ्चालक तीर्थ थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिलगायतले धारणा राख्नुभएको थियो ।
Exit mobile version