भेरी अस्पतालमा समाचार संकलनमा रोक, पत्रकारहरुद्वारा विरोध

भेरी अस्पताल हाताभित्र भिडियो, फोटो तथा समाचार संकलनमा रोक लगाइएको छ । शुक्रबार एक सूचना प्रकाशन गर्दै भेरी अस्पतालले यस्ता प्रकृतिका कार्य गर्नु गराउनु परेमा कार्यालयका सूचना अधिकारीसँग समन्वय गरेर मात्र कार्य गर्न अनुरोध गरेको छ ।

भेरी अस्पतालले प्रेस स्वतन्त्रता विरोधी कार्य गरेको बाँकेका पत्रकारहरुले बताएका छन् । उनीहरुले सामाजिक सञ्जालमा यसको विरोध जनाएका छन्  साथै नेपाल पत्रकार महासंघ बाँकेले जी नेपाल टेलिभिजनका पत्रकार अभिषेक गुप्तामाथि भेरी अस्पतालमा भएको दुर्व्यवहार र समाचार संकलनमा अवरोध एवम् अंकुश लगाउने नियतप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार आचारसंहिताको पालना गर्दै अस्पतालभित्र तोकिएका संवेदनशिल क्षेत्रको संवेदनशिलतालाई पत्रकारले सदैव ख्याल गर्दै आएका छन् तर ‘संवेदनशिल क्षेत्र’ का नाममा हरेक नागरिकको प्रत्यक्ष पहुँच हुने सार्वजनिक परिसरभित्र नै समाचार संकलनमा अंकुश लगाएर नागरिकको सु-सुचित हुन पाउने अधिकार कुण्ठित गर्न खोजिएको महासंघको ठहर छ ।

‘जनसरोकारसंग सम्बन्धित विषयमा सहजरुपमा काम गर्ने वातावरण बनाउनुको साटो सुरक्षागार्ड लगाएर अस्पताल प्रशासनबाट समाचार संकलनमा अंकुश र बाधा उत्पन्न गर्ने जस्तो कार्य आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो,’ बाँके शाखा सचिव कमल डाँगीद्वारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ, ‘महासंघ पत्रकारको संविधानप्रदत्त अधिकारमा आघात पुर्याउने यस्ता हर्कतको कडा शब्दमा भर्त्सना गर्दै पत्रकार गुप्तामाथि दुर्व्यवहार गर्ने माथि कारवाही र अस्पताल प्रशासनले सार्वजनिक गरेको सूचना खारेज गर्न माग गर्दछ । प्रेस स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यस्ता कार्य नदोहोयाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’ साथै महासंघले पत्रकार आचारसंहिताको पूर्णपालना गर्दै पेशागत कर्ममा जुट्न पत्रकारहरुमा विशेष अपिल गरेको छ ।

Exit mobile version